१३ पुस, पर्वत । पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ४ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडाले आर्थिक वर्ष २०७५/०७६ र आर्थिक वर्ष २०७६/०७७ को प्रथम चौमासिक अवधिमाको सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । वडाले वडाबासिहरुलाई पु¥याएको सेवा सुविधा तथा सम्पादन गरिएका कार्यहरुको विषयमा जनताहरुको प्रतिक्रिया तथा गुनासाहरुलाई व्यवस्थापन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई गर्दै आएको छ ।
कार्यक्रमकाबाट जनगुनासाहरु सुन्नु, जनताको समस्यामा छलफल गर्नु, वडामा एक चौमासिक अवधिमा गरिएका कामहरुको मूल्यांकन गर्नु, आगामी दिनहरुमा वडाले सुधार गर्नुपर्ने क्षेत्रहरुको पहिचान र सुझाव प्राप्त गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको वडा नम्बर ४ अध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।
कार्यक्रममा आर्थिक वर्ष २०७५÷०७६ मा भएका काम र योजनाहरु सहितको ४१ लाख ४५ हजारको विनियोजित बजेट र सम्पन्न आयोजनाहरुको बारेमा अध्यक्ष श्रेष्ठले प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित वडा बासीहरुले बजार अनुगमन, फोहर व्यवस्थापन, खानेपानी, भुकम्प पछि बनेका घरहरुको समस्या, बाटो, कृषि, स्वास्थ्य, शिक्षा, पालिकाको भवन लगाएतका विभिन्न विषयमा प्रश्नहरु राखेका थिए । वडा बासीहरुको प्रश्नलाई गाउँपालिका अध्यक्ष, जिल्ला समन्वय समिति पर्वतका उप–प्रमुख, इलाका प्रशासन, वडा अध्यक्षहरु लगाएतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि एवं समन्वय समिति पर्वतका उप–प्रमुख याम कुमारी रानाले वडाले गरेको सार्वजनिक सुनुवाई कार्यक्रम अति नै महत्वपूर्ण रहेको बताईन । वडाभित्रका योजनालाई के कसरी सम्पन्न गरिएको छ, कति बजेट खर्च भएको छ भन्ने विषयमा हरेक नागरीकले थाहा पाउनु अधिकारको कुरा भएकाले वडाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेर जनताका गुनासा र जिज्ञासा मेटेकोमा शुभकामना व्यक्त गरिन । उहाँले पैयूँको विकासको लागि आफुहरु सधैव लागि परेको भन्दै आगामी दिनमा हरेक नागरीकले आफ्नो ठाउँबाट विकास निर्माणका कामलाई नियाल्नु पर्ने बताईन ।
कार्यक्रममा पैयूँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले गाउँपालिकाले विकासका कामलाई तिव्रता दिईरहेको बताए। स्थानिय तहको निर्वाच भएको तिनवर्ष पुग्न लागि सकेको भन्दै उहाँले आगामी दिनमा समेत धेरै काम गर्न बाकी रहेको बताए । नागरीकका विभिन्न गुनासाहरुलाई सम्बोधन गर्दै अध्यक्ष तिवारीले कार्यक्रममा उठेका हरेक विषयमा आफुहरु छलफल गरेर अगाडी बढ्ने र ति समस्याहरुलाई समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरे । पछिल्लो समय गाउँपालिकाको भवन निर्माणको विषयमा निकै चर्चाहरु चरिहेको भन्दै अध्यक्ष तिवारीले आफुहरु पालिकाको भवन बनाउन कहाँ उपयुक्त हुन्छ भन्ने कुरामा जग्गाको अनुगमन गरीरहेको जानकारी दिए ।
कार्यक्रममा पैयूँगाउँपालिका वडा नम्बर ५ का अध्यक्ष उमाकान्त भुर्तेल, नेपाल कम्युनिष्ट पार्टी पैयूँ गाउँपालिका कमिटिका अध्यक्ष चोकलाल न्यौपाने, नेपाली कांग्रेस पैयूँ गाउँपालिकाका सभापति डम्बर बहादुर प्रधान, नेकपाका नेता मित्रलाल बस्याल, इलाका प्रशासन कार्यालयका प्रमुख विमल प्रसाद गौतम र इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक बिजय कुमार सिंहले नागरीकका गुनासाहरु समेत सम्बोधन गर्दै आफ्ना भनाईहरु राखेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार निर्भीक नारायण भुर्तेलले गरेका थिए ।




