१३ पुस,पर्वत । युनाईटेड मोदी हाइड्रोपावर कम्पनीको साधरण सभा आगामी पुस २४ गते हुने भएको छ । यस अघि कम्पनीले लाभांश सुरक्षित गर्ने पुस १० गते बिहीबार अन्तिम दिन तोकेको थियो ।
कम्पनीले शेयरधनीहरुका लागि कर सहित ८ दशमलव ४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २४ गते वार्षिक साधारण सभा गर्दैछ ।
सभा र लाभांश प्रयोजनका लागि पुस ११ गतेदेखि बुक क्लोज गर्नेभएकाले पुस १० गते नै लाभांश सुरक्षित गर्नुपर्ने भएको हो । हाल कम्पनीको चुक्तापूँजी रू १ अर्ब १५ करोड छ । बुधबार यस कम्पनीको अन्तिम शेयरमूल्य रू १०९ कायम भएको छ ।
कम्पनीले पर्वतको चुवामा १० मेगावाट क्षमताको तल्लो मोदी खोला २ जलविद्युत आयोजना सञ्चालन गरेको छ । उक्त आयोजनाबाट नियमित रुपमा विद्युत उत्पादन भई रहेको छ । यस अघि कम्पनीले स्थानीयबासीका लागि समेत शेयर खुल्ला गरी विक्री गरेको थियो । कम्पनीले शुरुवात गर्ने भनिएको तल्लो मोदी खोला ३ जलविद्युत आयोजना भने निर्माण नहुने यस अघिको साधारण सभाले निर्णय गरीसकेको छ ।
कालीगण्डकीमा नदीमा बहुउद्देश्यीय आयोजना निर्माण हुने भनि सर्वे कार्य अघि बढेसंगै कम्पनीले नयाँ योजना सञ्चालनमा बाधा पुग्ने भन्दै निर्माण प्रक्रिया रोकेको थियो ।
आजको अर्थ वीट साप्ताहिकमा खबर छ ।




