२४ वैशाख, पर्वत । राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यले शिक्षा क्षेत्रमा गरेका लगानी बमोजीमको प्रतिफल प्राप्त नभएको बताएकी छिन । बागलुङको अमलाचौरमा रहेको पृथ्वी हरिण्य माविको नवनिर्मित भवनको शुभारम्भ तथा शालिक अनावरण गर्दै राष्ट्रपति भण्डारीले शिक्षा क्षेत्रमा ठूलो लगानी भएपनि लगानी बमोजमिको प्रतिफल प्राप्त नहुँदा देशको शैक्षिक अवस्था सुध्रन नसकेको बताएकी हुन ।
प्रतिष्ठित ब्यापारी चन्द्र ढकालले ५ करोड २८ लाखको नीजि लगानीमा निर्माण गरेको २५ कोठे भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शैक्षिक क्षेत्रको सुधारका लागि सवै पक्षको सहयोग र समन्वय हुनु जरुरी रहेको बताईन । भण्डारीले विद्यालय, विद्यालय ब्यवस्थापन समिति र स्थानीय तहको समन्वयमा शैक्षिक क्षेत्र सुधार गर्न सकिने कुरा उल्लेख गर्दै भौतिक संरचना सुधार पहिलो आवश्यकता रहेको औल्याईन । भण्डारीले पछिल्लो समय समुदाय र ब्यक्तिको लगानीमा शैक्षिक क्षेत्रमा भौतिक संरचनाहरु निर्माण भईरहेको उल्लेख गर्दै अव गुणस्तरीयतामा ध्यान दिनुपर्ने धारणा राखिन ।
उद्योग बाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका ढकाल र उनको परिवारले आफ्ना स्वर्गिय बुवा हिरण्य ढकालको सम्झनामा उक्त भवनको निर्माण गरेको हो । अत्याधुनिक सुविधासम्पन्न भवनको उद्घाटन गर्न सोमबार राष्ट्रपति भण्डारी बागलुङ आएकी हुन । भण्डारीले नीजि क्षेत्रको सहयोगमा निर्माण भएका यस्ता ठूला पूर्वाधारहरुलाई संस्थागत गर्दै शैक्षिक गुणस्तर सुधार आजको आवश्यकता रहेको बताएकी थिइन । उक्त अवसरमा विद्यालयका पूर्व विद्यार्थीहरुल निर्माण गरेको ल्याव र कम्युटर कक्षको समेत राष्ट्रपति भण्डारीले शुभारम्भ गरेकी थिइन ।




