Print

६ महिना देखि रोकिएको डिमुवा–तिलाहार–चित्रे सडकमा कालोपत्रेको काम शुरु

२० वैशाख, पर्वत । छ महिना पहिले देखि अलपत्र अबस्थामा रहेको पर्वतको डिमुवा देखि राम्जा चित्रे जोड्ने डिमुवा– राम्जा सडक कालोपत्रे गर्ने कार्य सुचारु भएको छ ।

पर्वतको दोस्रो ब्यापारिक केन्द्र तिलाहार गाबिसको डिमुवा देखि राम्जा सम्म जोड्ने सडक कालोपत्रे गर्ने काम कार्यान्वयन गर्ने निकायको टुंगो नहुँदा गएको कार्तिक देखि अलपत्र थियो । सडक डिभीजन बागलुङ्गले कालेपत्रे गर्न शुरु गरेको डिमुवा –राम्जा सडक गण्डकी प्रदेश सरकारले हेर्न गरि टुंगो लागे संगै कालोपत्रे कार्य सुचारु भएको हो ।

पुर्वाधार बिकास कार्यालय पर्वतले दिएको जानकारी अनुसार डिमुवा–राम्जा सडकमा ७ किलोमिटर पक्की गर्ने काम सुचारु भएको छ । सडक डिभीजन अन्र्तगत रहेको सडक कार्यान्वयन गर्ने निकायको टुंगो नहुँदा गएको कार्तिक देखि काम रोकिएको थियो । ‘अहिले सडक प्रदेश मातहतमा आएपछि निर्माण ब्यबसायीको म्याद थपेर कालोपत्रे गर्ने कार्य सुचारु गरिएको छ ’ कार्यालय प्रमुख सिनियर डिभीजनल इन्जिनियर दयाराम अधिकारी भन्छन ‘असोज सम्म काम सम्पन्न गर्ने लक्ष्य सहित निर्माण कार्य शुरु भएको छ ।’

२०७३ मंसिर २४ बाट निर्माण कार्य शुरु भएपनि तीन तहका निर्वाचनका कारण पनि सडक निर्माणले गति लिएको थिएन । गएको कार्तिक देखि सडक निर्माण पुरै रोकिएको सडकको निर्माण कार्य शुरु गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पहल गर्दै आएका थिए । तिमिल्सीनाकै पहलमा २०७२ सालमा तत्कालीन अर्थ मन्त्री विष्णु पौडेलले सडक कालोपत्रेका लागि यस अघि बजेटको ब्यवस्था गरेका थिए । निर्माण कार्य शुरु भएर पनि सडक अलपत्र परेको थियो । राम्जादेउराली तिमिल्सीनाको जन्मगाउँ हो ।

सडक निर्माणका लागि गजुरमुखी निर्माण सेवाले काम गर्दै आएको छ । अहिले सम्म सडक चक्लाबन्दी गर्ने, टेवा पर्खाल लगाउने काम करिब सम्पन्न भएको र केही स्थानमा जाली भर्ने र पर्खाल लगाउने काम बाँकी रहेको निर्माण कम्पनीका साइड इन्र्चाज हरि केसीले जानकारी दिए । उनका अनुसार अहिले अहिले सम्म ६५ प्रतिशत काम सकिएको छ । असार महिना सम्म डिमुवा देखि रतिखोला सम्म डेढ किलोमिटर भन्दा बढी सडक कालोपत्रे गर्ने लक्ष्यका साथ काम सुचारु गरिएको छ । ‘अब बेस बिच्छाउने र कालोपत्रे गर्ने काम बाँकी हो’ उनले भने ‘असोज सम्ममा कालोपत्रे गरि सक्ने गरि काम अघि बढाएका छौ’ लामो समय सम्म चुनाब, कार्यान्वयन गर्ने निकाय र अन्य कारणले काम सक्न कठिनाई भएको उनको भनाई छ ।

डिमुवा राम्जा सडक कालोपत्रे भएपछि पर्वतका तिलहार, राम्जा, चित्रे तथा कुस्मा नगरपालिकाको ११ नम्बर वडका बासिन्दाहरु प्रत्यक्ष गाबिसका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन । सडक कालोपत्रे भएपछि पर्यटकीय स्थल पञ्चासे पुग्ने आन्तरिक तथा बाह्य पर्यटक तथा होमस्टे सञ्चालन भएको चित्रे पुग्नलाई सहज हुने भएको छ । यसले त्यस क्षेत्रको आर्थिक तथा पर्यटन क्षेत्रमा उल्लेख्य परिवर्तन आउने मोदी गाउँपालिकाका प्रबत्ता एबम वडा नं ६ का अध्यक्ष बिमल लामिछानेले बताए । यसैगरी डिमुवा–राम्जा सडकमा पर्ने रतीखोलामा पनि पक्की मोटरेबल पुल निर्माणको काम यसै बर्ष समाप्त हुने भएको छ । सडक कालोपत्रे र पुल निर्माणपछि बाहैैमहिना सडक सञ्चालनमा आउनेछ । उक्त सडक खण्डको रति खोलामा मोटरेवल पुल निर्माणधिन अवस्थामा छ । पुल निर्माण सम्पन्न हुँदा तिलाहार हुँदै चित्रे र राम्जादेउरालीसम्मको यात्रा थप सहज हुनेछ ।