२१ वैशाख, पर्वत । ऐतिहासिक पहिचान बोकेको नेपालकै ठुलो मानवनिर्मित पोखरीको संरक्षण शुरु गरिएको छ । पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं १२ ठुलीपोखरीमा रहेको ऐतिहासिक ठुलीपोखरीको संरक्षणका लागि गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश सरकारको २५ लाख रुपैया बिनीयोजन भएको छ ।
पानीको स्रोत र ब्यबस्थापनको अभाबमा पोखरी चुहिएर यसको अस्तित्व नै संकटमा पर्न थालेपछि ठुलिपोखरी संरक्षणका लागि स्थानीयले चासो देखाएका थिए । ठुलिपोखरीका स्थानीयबासी तथा मन्त्रीका स्वकीय सचिव किशोर सापकोटाले चालु आर्थिक वर्षदेखि नै उक्त पोखरीको संरक्षणको काम शुरु हुने बताए । उनले अहिले रु २५ लाख बजेट बिनीयोजन भएको बताउँदै आगामी आर्थिक वर्षमा पुर्ण रुपमा मर्मत र पर्यटकीय दृष्टिकोणले विकास गर्नका लागि आवश्यक बजेट बिनीयोजन गर्ने जानकारी दिए । उद्योग, पर्यटन तथा वन मन्त्री लम्सालले प्रदेश सरकारबाट पोखरी संरक्षणमा बजेट विनियोजन गर्न भूमिका खेलेका हुन ।
साविक ठुलीपोखरी गाबिसको बिच भागमा रहेको यो पोखरी करिब सात रोपनी क्षेत्रफलमा फैलिएको छ । एक सय बर्ष भन्दा पहिले यो पोखरीको निर्माण गरिएको बताइन्छ । अहिले पोखरीबाट पानी चुहिने र बर्षा याममा समेत सुख्खा जस्तै हुने भएकाले संरक्षणको काम थालिएको ठुलीपोखरीका वडा अध्यक्ष राजेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार प्रदेशवाट बिनीयोजन भएको रकमले यसै आर्थिक वर्षभित्र अधिकांस कामहरु सम्पन्न गर्ने तयारी भएको छ ।
पोखरी संरक्षणका लागि भू– तथा जलाधार व्यवस्थापन कार्यालय मार्फत काम हुने भएको छ । उक्त पोखरीमा वर्षायाममा दुई महिना मात्रै पानी भरीने र बाँकी १० महिना सुख्खा हुने गरेको छ । अबदेखि पोखरीमा बाह्रैमास पानी भरी राख्ने, पोखरीको बीचमा मन्दिर निर्माण गर्ने र डुंगा संचालन गरी पर्यटकीय हिसाबले विकास गर्ने योजना रहेको वडा अध्यक्ष पौडेलले जानकारी दिए ।
जिल्लाकै पहिचान संग जोडिएको यो पोखरीको संरक्षण भएमा ऐतिहासिकता र मौलिकता कायम हुने स्थानियबासीको अपेक्षा छ ।




