Print

सांसद गिरीका प्रतिबद्धता पुरा हुँदै : लुंखु देखि हुवाससम्मको सडक पनि कालोपत्रे हुने

२६ चैत, पर्वत । दक्षिणी क्षेत्रको महाशिला र पैयू क्षेत्र पर्वतको कुश्मा बजारका लागि दुर्गम क्षेत्र मध्ये पर्दछन । दक्षिणी क्षेत्रमा रहेका दुवै गाउँपालिकालाई पर्वतको सदरमुकाम कुश्माबजारसम्म जोड्ने मुख्य सडक भने अहिले कालोपत्रेको चरणमा रहेको छ । लामो समयसम्म सडक कच्चि रहँदा पर्वतको दक्षिणी क्षेत्रका जनताहरु स्याङजा, कास्की हुँदै पर्वत आउन बाध्य थिए । आफ्नै जिल्लाको सदरमुकाम आउँदा दुई जिल्ला घुम्नुपर्ने जिल्लाबासीको समस्यामा भने अव समाधान हुने भएको छ । निर्वाचनको बेला प्रतिनिधि सभा सदस्यका उमेदवार पदम गिरीले दक्षिणी पर्वतलाई सदरमुकामसम्म जोड्ने गरी मुख्य सडक कालोपत्रे गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

पछिल्लो निर्वाचनमा प्रदेश सभा सदस्यका उमेदवार देखि प्रतितिनिधि सभाका उमेदवारले गरेको प्रतिबद्धताले अहिले मुर्तरुप पाउन थालेको देखिन्छ । सदरमुकाम कुश्मा बजार देखि पैयूको हुवास हातेमालो चोक जोड्ने सडक कच्चि हुँदा यहाँका स्थानीयले लामो समय देखि कष्ट ब्यहोर्दे आइरहेका छन । उक्त सडक खण्डमा दोविल्ला देखि लमायखोलासम्म कालोपत्रेको काम भईरहेको छ । घोएन्याउला देखि मुडिकुवसम्मको खण्ड बाँकी रहेपनि दोविल्ला देखि लमायखोलासम्म कालोपत्रे भईसकेको छ । उता, लमायखोला देखि लुंखुदेउरालीसम्म कालोपेत्रेको लागि काम भईरहेको छ । लुंखु देखि हुवासम्मको काममा भने यस अघि बजेट विनियोजन भएको थिएन ।

जनप्रतिनिधिहरुको लामो दबाबका कारण लुंखु देखि हुवासम्मको सडक कालोपत्रे गर्नका लागि ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपि)ले निर्माण कार्य अगाडि बढाउने भएको छ । सांसद गिरीको अथक प्रयास पछि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको स्थानीय पूर्वाधार विभागले उक्त कार्यका लागि सहमति प्रदान गरेको हो ।

आरसिआइपि मार्फत सडककलाई बहुबर्षिय टेण्डर मार्फत निर्माण कार्य अगाडि बढाउन सहमति प्रदान भएको सांसद गिरीले जानकारी दिए । मुख्य सडक कालोपत्रे गरेरै छाड्ने आफ्नो प्रतिबद्धता बमोजीम उक्त सडकको लागि सहमति प्रदान गर्न सवैको सहयोग र साथ रहेको गिरीको भनाई छ । सडक कालोपत्रे हुँदा पैयू र महाशिला पर्वतको सदरमुकाम कुश्मा बजारसम्म प्रयत्क्ष रुपमा जोडिन्छन ।