३ फागुन, पर्वत । झण्डै एक बर्ष अगाडि निर्माण कार्य शुरु भए पनि ठेकेदार कम्पनीले निर्माण कार्य बन्द गरेपछि अलपत्र परेको जिल्लाको फलेवास नगरपालिकाको देविस्थान(कुर्घा जोड्ने लमायखोला मोटरेवल पुलको निर्माण कार्य द्रूत गतिमा अघि बढेबो छ ।
पुल निर्माण स्थलमा पुगेर निर्माण कार्यका लागि तत्काल पहल गर्ने सांसद पदम गिरीले प्रतिबद्धता ब्यक्त गरेको १ महिना नवित्दै निर्माण कार्य शुरु भएको थियो । संघिय सांसद गिरीले स्थानीयस्तरबाट पुल निर्माण कार्य अवरुद्ध भएको गुनासो आएपछि स्थलगत अवलोकन गरेका थिए ।
पुल निर्माण स्थल लमायखोलामा पुगेका सांसद गिरीसंग स्थानीयले पुल अलपत्र परेको भन्दै आक्रोस ब्यक्त गरेका थिए । स्थानीयको आक्रोस पछि गिरीले निर्माण कम्पनी र करिडोरको कार्यालयसंग सम्पर्क गरी जतिसक्दो छिटो निर्माण कार्य अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । गिरीले मंसीर महिनाबाट निर्माण कार्य शुरु गराउने प्रतिबद्धता ब्यक्त गरेको ३ साता पछि निर्माण कम्पनीले निर्माण सामाग्री पुल निर्माण स्थलमा झारेको थियो ।
संघिय सरकारले निर्माण गरीरहेको कालीगण्डकी करिडोर अन्तर्गतको पर्वत खण्डमा पर्ने सडकमा उक्त मोटरेवल पुलको निर्माण कार्य अगाडि बढेको हो । पुल निर्माण कार्यको प्रारम्भिक चरण मै निर्माण कम्पनीले काम छाडेपछि विगत १ बर्ष देखि पुल अलपत्र अवस्थामा थियो । निर्माण कार्य अलपत्र पर्दा समेत कुनै पक्षले पनि चासो नदेखाएपछि स्थानीयले सांसदलाई गुहारेका थिए । सांसदको समन्वयसंगै निर्माण कार्य अगाडि बढेको भन्दै स्थानीयले निर्माण कार्य अन्तिम चरणमा नपुग्दासम्म पुल निर्माणको अनुगमन, निरिक्षण गर्न सांसदलाई आग्रह गरीरहेका छन ।
यसैवीच ३ बर्ष अघि निर्माण कार्य शुरु भएपनि अलपत्र अवस्थामा रहेको जिल्लाको मोदी गाउँपालिका भुकदेउराली र कास्कीको अन्नपूर्ण गाउँपालिका ८ जोड्ने भुरुङदीखोला मोटरेवल पुलको काम पनि अघि बढेको छ । निर्माणको अवधि सकिँदा समेत पुल निर्माण कार्य नसएिपछि सांसद गिरीले चासो ब्यक्त गरेका थिए ।
गिरीले निर्माणकार्य स्थलमा नै पुगेर निर्माण ब्यवसायी र सडक डिभिजन कार्यालयका इन्जिनियरसंग परामर्श गरेसंगै निर्माण कार्य अघि बढेको हो । अपेक्षाकृत गतिमा निर्माण कार्य नभएपनि निर्माण सम्पन्न हुनेमा स्थानीयबासीले भने विश्वास लिएका छन । हाल पुलको दायाँ तर्फको फाउण्डेशनको काम अघि बढेको छ ।
उता, मोदीखोलामा निर्माण भईरहेको कुश्मा र फलेवास जोड्ने मोटरेवल पुलको काम पनि दु्रत गतिमा अगाडि बढिरहेको छ । पुलको झण्डै ४० प्रतिशत काम सम्पन्न भएको निर्माण पक्षले जनाएको छ । हाल पुलको दाँया तर्फको काम अन्तिम चरणमा छ भने वाँया तर्फको फाउण्डेशनको काम भईरहेको छ । आगामी असार मसान्तसम्म ढलनको काम गर्ने गरी निर्माण पक्षले काम अगाडि बढाईरहेको छ ।







