२ फागुन, पर्वत । पर्वतका चार वटा मुलुककै अग्ला र लामा पुल प्रणय दिवस मनाउनेका लागि गन्तव्य बनेका छन्। सदरमुकाम कुश्माबजार नजिकै रहेका नेपालकै अग्ला र लामा पुलमा बिहीबार बिहानैदेखि प्रेम गर्ने युवा युवतीको भिड लागेको थियो। पछिल्लो समयमा पर्यटकीय आकर्षणको केन्द्रबिन्दु बनेका पुलमा बिहीबार दिनभर सयौं जोडी घुम्न आएको स्थानीय होटल व्यवसायीले बताए।
बागलुङ, म्याग्दी, पोखरा, स्याङजा लगायत ठाउँबाट प्रेमी-प्रेमिका आएका थिए। मोदीखोला माथिका तीनवटा र कालीगण्डकी माथि रहेको कुश्मा-कैया झोलुंगे पुलआसपासमा सुविधाजनक होटल तथा रमणीय ठाउँमा बसेर एक आपसमा माया प्रेमका कुराकानी गरेर दिन बिताइरहेका थिए।
भ्यालेन्टाइन्स डे मनाउन पोखराबाट आएका एक जोडीले भने पछिल्लो समयमा पर्यटकीय दृष्टिले चर्चामा आएका अग्ला पुल अवलोकन गर्न र प्रेम दिवस मनाउन जोडी बनेर आएको बताए। पुलमा वारपार गर्दा निकै आनन्द आएको उनको अनुभव छ।
पर्यटकको पर्खाइमा रहेका मुलुककै अग्लो झोलुंगेपुलको पहिचान बोकेको कुश्मा-ज्ञाँदी झोलुंगेपुल, वडागाउँ-मुडिकुवा, खरेहा-अधिकारीफाँट, र कुश्मा-कैया पुल अवलोकनका लागि आउने पर्यटकहरुको दिन प्रतिदिन संख्या बढ्दै गइरहेको छ।
पुलमा बिहानैदेखि अन्य दिनको तुलनामा निकै भिड बढेको स्थानीय होटल व्यवसायी रामबहादुर सुवेदीले बताए। मोटरसाइकल, कार, तथा साना सवारीका साधन लिएर विशेष गरी यो दिन मनाउनकै लागि सयौं जोडीहरु आएको उनले बताए।
पछिल्लो समय विभिन्न विद्यालयको शैक्षिक भ्रमणको गन्तव्य समेत अग्ला पुल बन्ने गरेका छन्। पुल अवलोकनका लागि आउनेहरुलाई व्यवस्थित रुपमा अवलोकन, सहज रुपमा आवतजावत गर्न पुलका दुई छेउमा बगैचा तथा विश्रामस्थल समेत निर्माण गर्न थालिएको छ।
रातिको समयमा आउनेलाई लक्ष्य गर्दै पुलका दुवै भागमा बत्तीको समेत व्यवस्था गरिएको छ। पुलमा दुवै क्षेत्रमा व्यवस्थित होटल तथा रेस्टुरेन्ट पनि सञ्चालनमा आएका छन्। सदरमुकाम सँगै जोडिएको हुनाले पुलहरुमा आउने प्रेम जोडीको संख्या उल्लेख्य रहेको स्थानीय बताउँछन्।
anapurnapost.com




