एउटा जमाना थियो, रेडियो कानमा तेस्राएर सुन्ने । घरको भित्ताहरुमा झुण्डिएका रेडियोहरुले दिने समाचार, सन्देश नै हाम्रा लागि विश्वासीलो बन्थे । त्यो जमानासंगै पत्रपत्रिको जमाना पनि अघि बढ्यो । पत्र पत्रिकामा लेखिएका समाचार, लेख र विचारहरुलाई जनताले आफ्नो विचार बनाउन थाले । त्यहि युगसंगै शुरुवात भयो, अनलाईन समाचार माध्यम ।
हामीले देशको मोफसल भनेर चिनिने पर्वत जिल्लामा बसेर त्यो आँट गरयौ, अनलाईन सञ्चार माध्यम सञ्चालनको । आज भन्दा ठिक २ बर्ष अगाडि देखि शुभारम्भ गरिएको यो अनलाईन सञ्चारम माध्यमलाई हामीले नेपाल सरकारको कानून बमोजीम सुचना विभागमा दर्ता गर्दै वैधानिक र कानून सम्बत् ढङगबाट अगाडि बढाईरहेका छौ । आज स्थापनाको दोस्रो बर्ष पुरा भएको छ । यो अवधिमा विचार, भावना र चाहनाहरुलाई मुखरित गर्ने प्रण र प्रचारका बाबाजुद् हामीले हाम्रा पाठकहरुलाई सकभर विश्वासिला समाचार र लेखहरु पस्कने प्रयास नै गरीरह्यौ ।
आजको विश्व समुदाय निकै साँधुरो बनिरहेकोछ । एक कुनाबाट विश्वको अर्को कुनामा भएका घटनाहरु क्षणभरमा नै थाहा पाउन सकिने गरी इन्टरनेटको विकास, विस्तार भएको छ । यहि सेवालाई भरपुर प्रयोग गर्दै समाचारका नयाँ नयाँ आयामहरुलाई छिटो, छरितो र विश्वसनीय ढङगबाट पाठकहरुका सामु पुराउनु पर्छ भन्ने हाम्रो अठोटले सफलता पाउँदै गरेको हामीलाई अनुभव भईरहेको छ । यो २ बर्षको अनुभवले हामीलाई धेरै पाठहरु पनि सिकाएको छ । छिटो र तत्काल समाचार सम्प्रेषण गर्नुपर्ने प्रतिस्पर्धात्मक कारणले कतिपय सन्देशहरुलाई पुनरावलोकन गर्नुपर्ने बाध्यताहरु कहिलेकाही सृजना भने हुने गर्दछन । यद्यपि हामीले भरपर्दो श्रोतलाई अधिकतम प्रयोग गर्ने र त्यसलाई सम्प्रेषण गर्ने कार्यमा कत्तिपनि विचलित नभईकन पहल, प्रयास गरीरहेका छौं ।
देशको चौथो सानो जिल्ला पर्वत । यसैको नामसंग मिल्दोजुल्दो नाम राखिएको अनलाईन स्थापना गरेर निकै कम विगनेसमा पनि हरपल सत्य, तथ्य र निश्पक्षताको खोजी कार्यमा हामी लागि रहँदा हाम्रा लेखकीय शब्दहरु पढेर हामीलाई देश र विदेशबाट थुप्रै सुझाब, प्रतिक्रिया र हौसला प्रदान गरीरहनु भएका पाठक वर्गहरु प्रति यो दोस्रो बार्षिकोत्सवको अवसरमा हार्दिक नमन गर्न चाहन्छौं । आशा र विश्वास छ, हामीलाई पाठकहरुको अथाह माया र ममता सधै भरी नै रही रहनेछ । यो विश्वासमा हामी विचलित हुने छैनौं ।
अन्त्यमा दोस्रो बार्षिकोत्सवको दिन समाचार प्रदान गर्ने सहकर्मीहरु, समाचारका लागि श्रोत उपलब्ध गराउनु श्रोतदाताहरु र हामीलाई धेरै थोरै विज्ञापन दिएर अनलाईन सञ्चालनका लागि सहयोग गर्ने सहयोगी मन साथै अनलाईनको डिजाइन कार्यमा सहयोग पुराउँदै आउनु भएका धौलागिरी आइटिका सञ्चालक प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछु ।
गणेश गिरी
(सम्पादक)




