Print

जनप्रतिनिधिले गर्ने काम पर्वतका सिडिओले गरे, अनाथ बालबालिकाका लागि जग्गाको प्रवन्ध

२२ माघ, पर्वत । जनताको मत लिएर जितेका जनप्रतिनिधिहरुले गर्ने काम पर्वतका सिडिओ (प्रमुख जिल्ला अधिकारी) ले गरेका छन । सिडिओ गुरुदत्त ढकालले जागिरे जीवनमा गरेको सवैभन्दा ठूलो परोपकारकारी काम गरेपछि उनको चर्चा चुलिएकोछ । ढकालले बाबुको मृत्युपछि आफ्ना नावालक छोराछोरीलाई छाडेर आमाले नै दोस्रो विवाह गर्दा बिचल्लीमा परेका तीन बालबालिकालाई सहयोगी खोजेर घडेरीको प्रवन्ध गरेसंगै सिडिओ ढकालको प्रशंसा भएको हो ।

बाबुको मृत्युपछि आमाले दोस्रो बिहे गर्दा बिचल्लीमा परेका पर्वतको कुस्मा नगरपालिका – १४ कटुवाचौपारीका तीन दलित समुदायका बालबालिकालाई ५ आना घडेरीको प्रवन्ध सिडिओको पहलमा भएकोछ । सिडिओ ढकालले झण्डै ५ लाख मुल्यको जग्गा १ लाख रुपैंयामा बालबालिकाको नाउँमा गरिदिएका छन । उनले १ लाख रकम पनि सहयोगी ब्यक्तिहरुसंग सहयोग मागेका हुन ।

ढकालको पहलमा जिल्ला विकास समितिका पूर्व उपसभापति राम शर्मा पौडेलले जम्मा १ लाख रुपैया लिएर ५ लाख भन्दा बढीको घडेरी बालबालिकालाई उपलब्ध गराएका छन । उक्त १ लाख रुपैंया घडेरी किन्नका लागि प्राबिधीक क्षेत्रमा काम गर्ने २४ जना युवाहरुले एक लाख रुपैंया संकलन गरेका थिए । इन्जिनियर सुरेन्द्र गौतमको नेतृत्वमा संकलित उक्त रकम गौतम, सरोज ढकाल र इन्द्रबहादुर राणा थापाले बालबालिकालाई हस्तान्तरण गरिएपछि जग्गाधनीलाई बुझाइएको छ ।

नगद संकलन गर्नेहरुमा सुरेन्द्र गौतम, अनन्त बराल, बिष्णुप्रसाद पाण्डे, उज्ज्वल पाण्डे, आशिक रिजाल, कल्याण खड्का, प्रकाशबहादुर खड्का, प्रमोदकुमार चौधरी, टिकाबहादुर थापा, बिशाल जिसी, शालिकराम बराल, कृष्णबहादुर क्षेत्री, अनिल कुमार यादब, मुमबहादुर पल्ली, लोकेश र्पौडेल, शिबप्रसाद सुबेदी, गुरुप्रसाद बराल, खिलप्रसाद कुवँर, लक्ष्मण लम्साल, रमेशराज पौडेल, सरोज ढकाल, इन्द्रबहादुर राणा थापा, बिनोद रिजाल र कृष्ण पौडेलले संकलन गरेका हुन ।

०७४ मंसिरमा मृत्यु भएका पर्वतको कुस्मा नगरपालिका–९ कटुवाचौपारीस्थित छेउखन्नाका धनबहादुर दमैका तीन छोरा बिचल्लीमा परेका थिए । उनका दुई श्रीमतीमध्ये सावित्री दमै चार वर्षअघि र कान्छी देवी परियार दुई वर्षअघि दोस्रो विवाह गरी गइसकेका छन्। देवीतर्फका छोरा विवेक र सावित्रीतर्फ विशाल र विश्वास बाबुको मृत्युपछि सहाराविहीन बनेका थिए । उनीहरु वृद्ध हजुरबुबा हजुरआमाको साथमा जीवनयापन गर्दै आएका छन । बालबालिका विचल्लीमा परेपछि सिडिओ ढकालले धेरै संघ संस्थाहरुसंग सहयोग जुटाएर बालबालिकाको सहयोगमा जुटका हुन । जग्गाको लालपुर्जा पाएपछि खुसीले रोएकी हजुर आमा गौतमी परियारले अब टुहुराले सहारा पाएको धारण राखि । ‘मैले रुदैं ज्याला मज्दुरी गरेर पाल्न सकेकी थिइन, ’ उनले भनिन ‘अब यी बालकको पनि भविश्य बन्छ भन्ने सोचेकी छु’

प्रजिअ ढकालको पहलमा जेठबाट बालकको हेरचाह, पालनपोषण र शिक्षाका लागि मासिक ६ हजार रुपैयाँ परिवारले पाउन थालेका छन । वडाको सिफारिसमा प्रमुख जिल्ला अधिकारी ढकालले एसओएस सामाजिक सेवा केन्द्र गण्डकीलाई पत्राचार गरेपछि उक्त संस्थाले तीन बालकलाई जनही मासिक २ हजार रुपैयाँका दरले सहयोग गर्दै आएको छ ।

कर्मचारी भए पनि सरकारले तोकेका बाहेकका काममा पनि सिडिओ ढकालले तत्परता दिएका छन । जनप्रतिनिधिहरु आर्थिक प्रलोभनमा परेर धन कमाउन कै लागि ब्यस्त बनिरहेको बेला सिडिओ ढकालले गरेको परोपकारकारी कार्यको जति धेरै प्रशंसा गरेपनि कमी नै हुन्छ । अर्थ वीट साप्ताहिकबाट