Print

प्रदेश मन्त्री पुनद्धारा पर्वत जिल्ला अस्पतालको अनुगमन, २७ करोडको नयाँ भवन निर्माण प्रक्रिया शुरु

१५ कार्तिक, पर्वत । अस्पताल ब्यवस्थापन समितिको नयाँ नेतृत्व पाएसंगै जिल्ला अस्पतालले गति लिएको छ । अस्पताल ब्यवस्थापन समितिमा प्रदेश सरकारले गोविन्द पहाडीलाई नियुक्ती गरेसंगै अस्पतालका गतिविधिहरु बढ्न थालेका छन । समितिले अस्पतालको सेवाको गुणस्तर सुधारको योजनासंगै नयाँ भवन प्रक्रियालाई गति दिएको छ ।

२०६९ सालमा भवन निर्माणको निर्णय भएपनि भवन निर्माण प्रक्रिया शुरु हुन सकिरहेको थिएन । पछिल्लो समय राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सीना र प्रतिनिधि सभा सदस्य पदम गिरीले केन्द्रिय स्तरमा गरेको प्रयास स्वरुप भवन निर्माण प्रक्रिया अगाडि बढेको थियो ।

भवन निर्माण प्रक्रिया अन्तर्गत ठेक्का आब्हान भएर सम्झौता हुँदा पनि अस्पताल ब्यवस्थापन समितिको अभावमा भवन निर्माण प्रक्रिया शुरु हुन सकेको थिएन । अस्पतालको नयाँ भवन निर्माण गर्दा हाल रहेका ५ वटा भवनहरु भत्काउनुपर्ने हुन्छ ।

विरामी भर्ना गरी उपचार भईरहेको प्रसुति गृह सहितको भवन भत्काउँदा दैनिक सेवा प्रभावहमा समस्या पर्ने भएपछि भवन निर्माण प्रक्रिया शुरु हुन सकिरहेको थिएन । बुधवार अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष पहाडीले प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनलाई अस्पतालमै निम्तो दिएर उक्त समस्या राखेका थिए ।

भवन भत्काउँदा सेवा प्रभवित हुने तर वैकल्पिक भवन नहँुदा भवन निर्माण प्रक्रिया शुरु हुन नसकेको पहाडीले मन्त्री पुनलाई जानकारी गराए । अस्पतालको निरिक्षण पश्चात पुनले विरामीको उपचारका लागि आवश्यक अस्थायी टहरा निर्माणको लागि आवश्यक बजेट प्रदेश सरकारबाट उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेसंगै भवन निर्माण प्रक्रिया शुरु हुने विश्वास गरिएको छ ।

झण्डै २७ करोडको लागतमा लिप्ट प्रविधि सहितको अत्याधुनिक भवन निर्माण हुँदैछ । डाक्टर र नर्सहरुको आवासीय सुविधा सहितको धौलागिरी क्षेत्रकै उत्कृष्ट भवन निर्माण आगामी ३० महिना भित्र सम्पन्न गर्ने गरी साझेदार निर्माण कम्पनीसंग सरकारले यस अघि र्नै सम्झौता गरीसकेको छ ।