Print

पर्वतका मुख्य सडक कालोपत्रे अभियान : अर्मादी–बनौ सडक कालोपत्रे शुरु

१५ कार्तिक, पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. २ अर्मादिस्थित मध्पहाडी लोकमार्गदेखि जलजला गाउँपालिकाको वडानं. ९ बनौ जोड्ने अर्मादी–बनौ सडक कालोपत्रे शुरु भएको छ ।

कुश्मा नगरपालिकाका दुई र जलजला गाउँपालिकाको एक वटा वडालाई जोड्नेगरी एशियाली विकास बैंकको ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लगानीमा कालोपत्रे हुन लागेको हो । झण्डै १२ किलोमिटर लामो सडकको आगामी दुई वर्ष भित्र कालोपत्रे सम्पन्न हुने भएको छ । झण्डै रु.३० करोडको लागतमा निर्माण सम्पन्न हुने सडकको टुण्डि कन्ट्रक्सन प्रालि सानेपा ललितपुरले निर्माणको जिम्मा लिएको छ ।

सडकको चौडाई नाली सहित झण्डै ७ मिटर हुनेछ । सडक कालोपत्रे भएपछि पर्वतको साविक खुर्कोट, पाङ्ग र बनौ गाविसका बासिन्दाहरु लाभान्वित हुने भएका छन् । हिउँदमा धुलाम्मे र बर्षायाममा हिलाम्मे सडकबाट कठिनपुर्ण यात्रा गर्दै आएका यस क्षेत्रका बासिन्दाहरु सडक कालोपत्रे भएपछि सहज रुपमा यात्रा गर्न पाउने जलजला गाउँपालिका वडा नं. ९ का अध्यक्ष गौबहादुर पुर्जाले जानकारी दिए । उनका अनुसार जनप्रतिनिधिहरुले पनि नियमित अनुगमन र निगरानी गरेर सडक समयमै र गुणस्तरीय बनाउन पहल गर्नेछौ ।

पर्वतका दोविल्ला–फलेवास, मुडिकुवा– लुंखु सडक पनि कालोपत्रे हुने चरणमा रहेका छन् । दोविल्ला–फलेवास र मुडिकुवा–लमाए सडकको अधिकांस भाग कालोपत्रे भैसकेको छ भने लमाए–लुंखु सडकपनि कालोपत्रेको चरणमा रहेको छ ।


आगामी दुई वर्ष भित्रमा दुईवटै सडक कालोपत्रे सम्पन्न गर्नेगरी काम शुरु भैसकेको ग्रामीण सडक सञ्जाल सुधार आयोजना पर्वतका कार्यालय प्रमुख जगदीश शर्माले जानकारी दिए । उनलाई ठेकेदार कम्पनीहरुलाई तोकिएकै मिति भित्र काम सम्पन्न गर्न निर्देशन गरिएको जानकारी दिए ।

यसैबीच उक्त सडकको निर्माण कार्य बुधवारदेखि औपचारिक रुपमा शुरुवात भएको छ । कुश्मा नगरपालिका वडा नं. २ स्थित केटिचौरमा पुजाआजा सहित ग्रामीण सडक सञ्जाल सुधार आयोजना पर्वतका कार्यालय प्रमुख जगदीश शर्मा, कुश्मा नगरपालिका वडा नं. १ पाङका अध्यक्ष देवेन्द्र सुवेदी, वडा नं. २ का अध्यक्ष यदुनाथ बास्तोला र जलजला गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष गौबहादुर पुर्जाले संयुक्त रुपमा शिलन्यास गरेका हुन् ।

सो अवसरमा उनिहरुले सडकको काम तोकिएको मापदण्ड अनुसार तोकिएकै समयमा सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरेका थिए । विकासका पूर्वाधारको पनि पूर्वाधारको रुपमा रहेको सडक निर्माणका क्रममा कुनै अबरोध नगर्न सवै पक्षबाट आवश्यकसहयोग गर्न पनि वडाअध्यक्षहरुले आग्रह गरेका थिए । उनिहरुले ढिलासुस्ति र कम गुणस्तरको नबनाउन पनि निर्माण कम्पनीलाई आग्रह गरेका छन् ।