Print

निर्मम र निर्लज्ज बन्दै सरकार : देशमा अधिनायकबादको खतरा

९ भदौ, पर्वत । अन्ततः ओली सरकारले असली रुप देखाउन थालेको छ । लोकतन्त्रकै लागि १४ वर्ष जेल बसेको मान्छेलाई लोकतन्त्रको पाठ कसैले सिकाउनु पर्दैन भनेर कुर्लिने प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार राती बसेको मन्त्रीपरिषद बैठकले, महेन्द्रनगरमा १४ वर्षे बालक शनी खुनाको ज्यान जाने गरी घटना हुनुमा प्रहरीको दोष नभएर आन्दोलनमा घुसपैठ भएको काइते तर्क गर्दै टक्टकिने बहाना खोजेको छ ।

प्रदर्शनकारीको छाती र टाउको ताकेर गोली हान्न लगाउने सरकारले आन्दोलनमा घुषपैठ भएको भनेर दोषबाट उम्कने बहाना खोजेको छ । मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकूल बास्कोटाले केही उत्तेजक समूहका कारण कन्चनपुरमा दुःखदायी घटना घटेको बताए ।

सरकारले गृह सहसचिवको नेतृत्वमा छानविन टोली पठाएर आन्दोलन मत्थर पार्ने  र बलात्कारपछिको हत्या घटनालाई ढाकछोप गर्ने प्रपञ्च रचेको दाबी सहित शान्तिपूर्ण आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा बालक खुना ढले । १५ जनाभन्दा बढी घाइते भए ।

शुक्रबार महेन्द्रनगरबासीलाई उत्तेजित बनाउन स्थितिको गाम्भिर्यता नबुझि बोल्ने नेकपाका नेता भीमबहादुर रावलको बिहानको अभिव्यक्ति काफी थियो । रावलले बलात्कार र हत्या काण्डलाई काँग्रेस निकट केही व्यक्तिहरु घटनाको छानबिन हुन नदिने, अराजकता सिर्जना गर्ने, आफ्नो स्वार्थ पूर्ति गर्न तल्लिन छन् भने । यसअघि केही मन्त्रीका आसेपासेले पनि सामाजिक सञ्जालमा टीकापुरबासीलाई उत्तेजित गर्ने गरी स्टाटस लेखेका थिए । रावलले स्थानीयलाई जानजान डोब्ने गरी आरोप लगाएपछि शुक्रबार प्रदर्शन दोहरिने प्रष्ट थियो । प्रदर्शन दोहरिए गोली हान्ने आदेश पाएको प्रहरीले छाती र टाउको ताकेर गोली हान्यो ।

तर वर्तमान सरकारका सबैभन्दा रुखो स्वभावका मन्त्री बास्कोटाले परिस्थितिलाई विभिन्न आपराधिक र घुषपेठिया तत्वले परिस्थितिलाई थप उत्तेजक बनाएको ठहर मन्त्रीपरिषदले गरेको सुनाए । के १४ वर्षका बालक अपराधि थिए ? घुसपैठिया थिए ? घटनाले त्यही देखाउँछ हो?  प्रवक्ता वास्कोटाले अर्को कुरा पनि भने ‘देशैभर भएका सबै आपराधिक घटनाप्रति सरकार सजग छ’ । यसको अर्थ भीम रावल लगायतका नेताहरुलाई  लगाम लागउनुको साटो सरकार अझै दमनमा उत्रने छः घुसपैठिया र आपराधिक तत्व नियन्त्रण गर्ने बहानामा ।

From : hamrakura.com