२ साउन, पर्वत । जिल्ला विपद् कार्य योजना निर्माण भएको हप्ता दिन भित्रै जिल्लाको जलजला गाउँपालिकाका दुई वटा वडामा पहिरो गएको छ । पहिरोले घर पुर्दा १ जनाको मृत्यु हुनुका साथै ३ जना गम्भिर घाइते भएका छन । पहिरोले आधा दर्जन बढि घरमा क्षति पुराएको छ । १ दर्जन भन्दा बढि घर जोखिममा रहेका छन ।
जोखिममा रहेका घरहरुलाई स्थान्तरण गर्न र पहिरोले पुरेका घरहरुका परिवारको वसोबासका ब्यवस्थापनका लागि जिल्ला विपद् ब्यवस्थापन समिति पर्वतको आकस्मीक वैठक कुश्मामा वस्न लागेको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले उक्त वैठकको आयोजना गरेको छ । वैठकले विपद् ब्यवस्थापन सम्बन्धि कार्य योजना र पहिरो पिडितहरुको राहत वितरण तथा सहयोगका विषयमा योजना निर्माण गर्नेछ ।
उता, पहिरो गएर १ जनाको मृत्यु र ३ जना घाइते भएसंगै जिल्लाका जनप्रतिनिधिहरुले सार्वजनिक रुपमा विपद्को सामना गर्न र पिडितहरुलाई उद्धार तथा राहत वितरण गर्न आब्हान गरेका छन ।
राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सीनाले पहिरोमा परेर मृत्यु भएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै पिडितलाई उद्धार र तत्काल रातह वितरण गर्न अपिल गरेका छन । तिमिल्सीनाका प्रेस सञ्चार विज्ञ अशोक पौडेलद्धारा जारी विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएका छ ।
यसैगरी पर्वतबाट प्रतिनिधि सभामा निर्वाचित सांसद पदम गिरीले पहिरोमा घर पुरिएको खबर पाउनासाथ राहत र उद्धार कार्यलाई छिटो भन्दा छिटो अगाडि बढाउन सरकारसंग माग गरेका छन । उनले पहिरोमा परि मृत्यु भएका परिवारको उचित ब्यवस्थापन र राहत वितरणमा ध्यान दिन समेत अनुरोध गरेका छन । मृत्यु भएका प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै घाइतेहरुको गिरीले सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन ।
प्रदेश सभाका वन, उद्योग तथा पर्यटन मन्त्री विकास लम्सालले पनि पिडित परिवारलाई राहत र सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताएका छन । उनले पहिरोका कारण मृत्यु भएको खवरमा दुःख ब्यक्त गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन ।




