Print

सिन्डिकेट विरुद्ध हस्ताक्षर गर्न नमानेपछि महासचिव लामिछाने प्रहरी नियन्त्रणमै

२३ वैशाख, पर्वत । सिन्डिकेटकै पक्षमा रहेको बताएपछि धौलागिरी बस ब्यवसायी समितिका महासचिव ख्याम लामिछानेलाई प्रहरीले रिहाइ गरेको छैन ।

पर्वत प्रहरीले सार्वजनिक यातायात सञ्चालनमा अवरोध गरेको भन्दै सिन्डिकेट पक्षका महासचिव लामिछानेलाई शुक्रबार नियन्त्रणमा लिएको थियो ।

स्वास्थ्य अवस्थामा समस्या रहेको भन्दै प्रहरीले लामिछानेलाई शनिवार रिहाइ गर्ने तयारी गरेपनि लामिछानेले प्रहरीले भनेजस्तो गरी सिन्डिकेट नमान्ने कागजमा हस्ताक्षर गर्न मानेनन । प्रहरी श्रोत भन्छ ‘उनले समितिको केन्द्रिय निर्णय जे हुन्छ आफू त्यसैको पक्षमा रहेको बताए ।’

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र प्रहरी नायव उपक्षिक दिलिप घिमिरेले सरकारी निर्णय मान्न तयार भए लामिछानेलाई रिहाइका लागि आफूहरु तयार रहेपनि उनले सिन्डिकेट पक्षकै रहेको बताएकाले रिहाइ नगरिएको जानकारी दिए ।

ढकाल र अधिकारी दुवैले लामिछानेलाई प्रतिकूल स्वास्थ्य अवस्थाका कारण रिहाइका लागि कागजमा हस्ताक्षर गर्न अनुरोध गरेपनि लामिछानेले भने ब्यवसायीको निर्णय नै आफ्नो अन्तिम निर्णय भएको बताएपछि उनलाई प्रहरी नियन्त्रणमा राखिएको प्रहरीको भर्नाइ छ ।