Print

३९ स्थानीय तहको नाम र केन्द्र परिर्वतन : पर्वतमा जलजलाको केन्द्र लामाखेत कायम

१८ फागुन, पर्वत । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले फेरि ३९ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ ।

यसअघि पहिलो चरणमा गत २४ पुसमा ४६ वटा स्थानीय तहको नाम र केन्द्र हेरफेर गरिएको थियो ।

देशभर कुल ७५३ स्थानीय तह छन् ।

मन्त्रालयले नाम र केन्द्र परिवर्तन भएको स्थानीय तहको सूची सार्वजनिक गरेको छ । कुनैको नाम, कुनैको केन्द्र र कुनैको दुवै परिवर्तन गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ अनुसार स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको हो ।

जसमा गाउँपालिका तथा नगरपालिकाको पहिलो निर्वाचन भएको मितिले ६ महिनाभित्र सम्बन्धित सभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतबाट एकपटकका लागि स्थानीय तहको नाम, केन्द्र वा दुवै परिवर्तन गर्न सकिने व्यवस्था छ ।

गाउँ तथा नगरसभाबाट नाम, केन्द्र वा दुवै परिवर्तनका लागि प्रस्ताव पारित गरी सरकारलाई सिफारिस गरिएको खण्डमा सरकारले सो सिफारिसअनुसार गाउँ तथा नगरपालिकाको नाम र केन्द्र परिवर्तनको घोषणा गर्नुपर्ने कानुनी व्यवस्था छ ।

मन्त्रालयका संघीय मामिला शाखाका अधिकृत दुर्गा दाहालले गाउँ तथा नगरसभाले सिफारिस गरेअनुसार ३९ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको बताइन् ।

उनका अनुसार पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेत कायम गरिएको छ ।

यस अघि जलजला गाउँपालिकाकोक केन्द्र कोटघर कायम गरिएको थियो ।

केन्द्र अपायक भएको भन्दै जलजलाबासी लामो समयदेखि आन्दोलित थिए ।

केन्द्र विवादको समस्या जननिर्वाचित प्रतिनिधि आएपछि समाधान हुने आश गरेका उनीहरुले बहुमतबाट केन्द्र स्थानान्तरणको निर्णय गरेका थिए ।

हाल साविकको माझफाँट गाविसको कार्यालयमा केन्द्र राखिएको छ । केन्द्र परिर्वतनको जलजला गाउँपालिकाको निर्णयलाई मन्त्रालयले अनुमोदन गरेसंगै केन्द्र परिर्वतन भएको हो ।

पर्वतको जलजला गाउँपालिकासंगै पाँचथरको फालेलुङ गाउँपालिकाको केन्द्र मेमेङ रहेकोमा परिवर्तन गरी थोक्लिम्बा कायम गरिएको छ ।

झापाको हल्दीबारी गाउँपालिकाको केन्द्र साबिक जलथल गाविसको कार्यालयमा राखिएकामा हाल परिवर्तन गरी धनुष पोखरी कायम गरिएको छ ।

यसैगरी सुनसरीको बराह नगरपालिकाको नाम परिवर्तन गरी ‘बराहक्षेत्र नगरपालिका’ कायम गरिएको छ ।

धनकुटाको छथर जोरपाटी गाउँपालिकाको केन्द्र परिवर्तन गरिएको छ ।

ताम्खुवा केन्द्र राखिएकोमा हाल वडा नम्बर २ स्थित जोरपाटी बजारलाई केन्द्र तोकिएको छ ।

भोजपुरको ट्याम्केमैयुम गाउँपालिकाको नाम सच्याएर ‘ट्याम्केमैयुङ गाउँपालिका’ कायम गरिएको छ ।

सोलुखुम्बुको दूधकोसी गाउँपालिकाको भने नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ ।

नाम माप्य दूधकोसी गाउँपालिका र केन्द्र बासा स्वास्थ्य चौकीनजिकै माझगाउँ खोला सोमबारे खास्ताप बासामा राखिएको छ ।

खोटाङको रूपाकोट मझुवागढी नगरपालिकाको नाम हेरफेर गरी ‘दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका’ कायम गरिएको छ ।

खोटाङकै दिप्रुङ गाउँपालिकाको नाम र केन्द्र दुवै हेरफेर गरिएको छ ।

नाम दिप्रुङ चुइचुम्मा गाउँपालिका र केन्द्र तृतीया भञ्ज्याङ राखिएको छ ।

उदयपुरको सुनकोसी गाउँपालिकाको नाम परिवर्तन गरी ‘लिम्चुङबुङ गाउँपालिका’ बनाइएको छ ।

सप्तरीको अग्निसाइर कृष्णासरवन गाउँपालिकाको केन्द्र परिवर्तन गरी सीतापुर कोलोनीको साबिक सडक कार्यालयको भवनमा तोकिएको छ ।

सप्तरीकै बेल्हीचपेना गाउँपालिकाको नाम र केन्द्र दुवै हेरफेर गरिएको छ । नाम राजगढ गाउँपालिका र केन्द्र नर्घो तोकिएको छ ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको केन्द्र महेन्द्रभ्mयाडी रहेकोमा परिवर्तन गरी झनझने कायम गरिएको छ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाको केन्द्र मोठभञ्ज्याङ रहेकोमा परिवर्तन गरिएको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिकाको केन्द्र परिवर्तन गरी चैनपुर कायम गरिएको छ ।

लमजुङको दूधपोखरी गाउँपालिकाको केन्द्र परिवर्तन गरी लेवरचोक राखिएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र लुम्ले रहेकोमा परिवर्तन गरी माछापोखरी कायम गरिएको छ । गुल्मीको छत्रकोट गाउँपालिकाको केन्द्र पल्लीकोट रहेकोमा हर्दिनेटाको चोएगा राखिएको छ ।

यसैगरी गुल्मीकै धुर्कोट गाउँपालिकाको केन्द्र परिवर्तन गरी जैसीथोक बर्बोट राखिएको छ ।

नवलपरासी बर्दघाट सुस्तापूर्वको बुङदीकाली गाउँपालिकाको नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ ।

नाम बौदीकाली र केन्द्र बबक राखिएको छ ।

रुपन्देहीको कञ्चन गाउँपालिकाको केन्द्र परिवर्तन गरी व्यहोरी कायम गरिएको छ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको केन्द्र बुड्ढी रहेकोमा परिवर्तन गरी बुड्ढी प्रतिक्षालय हनुमानचोक तोकिएको छ ।

अर्घाखाँचीको पाणीनि गाउँपालिकाको केन्द्र खिदिम रहेकोमा परिवर्तन गरी दुर्गाफाँट राखिएको छ ।

रोल्पाको सुवर्णावती गाउँपालिकाको नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ । नाम सुनिल स्मृति गाउँपालिका र केन्द्र सुलिचौर राखिएको छ ।

रोल्पाकै सुकिदह गाउँपालिकाको पनि नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ । नाम गंगादेव गाउँपालिका र केन्द्र सानाडाँडा राखिएको छ ।

रुकुम पूर्वीभागको भूमे गाउँपालिकाको केन्द्र परिवर्तन गरी खाबाङ बगर राखिएको छ ।

दाङको बबई गाउँपालिकाको केन्द्र हंसपुर रहेकोमा परिवर्तन गरी हापुरेमा राखिएको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिकाको केन्द्र अगैया कायम गरिएको छ ।

बाँकेकै बैजनाथ गाउँपालिकाको केन्द्रन बनकटवा रहेकोमा रामपुर तोकिएको छ ।

दैलेखको महावु गाउँपालिकाको केन्द्र रानीवन रहेकोमा परिवर्तन गरी गौडावाज राखिएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिकाको केन्द्र परिवर्तन गरी लिम्सा राखिएको छ ।

डोल्पाको ठूली भेरी नगरपालिकाको केन्द्र दुनै रहेकोमा परिवर्तन गरी जुफाल राखिएको छ ।

कालिकोटको कालिका गाउँपालिकाको नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ । नाम शुभ कालिका गाउँपालिका र केन्द्र कालेखोलादेखि सुकाटीया डाँडासम्मको बीचमा राखिएको छ ।

बाजुराको गौमुल गाउँपालिकाको केन्द्र मानाकोट रहेकोमा परिवर्तन गरी घटमुना राखिएको छ ।

बाजुराकै स्वामीकार्तिक गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गरी स्वामिकार्तिक खापर गाउँपालिका र केन्द्र सुइजिउला वाई कायम गरिएको छ ।

बाजुरको अर्को गाउँपालिका छेडेदहको नाम परिवर्तन गरी खप्तड छेडेदह गाउँपालिका राखिएको छ ।

डोटीको सायल गाउँपालिकाको केन्द्र डौड रहेकोमा परिवर्तन गरी दुदिलागडा ओमनगर कायम गरिएको छ ।

डडेलधुराको नवदुर्गा गाउँपालिकाको केन्द्र परिवर्तन गरी बान्चोरा कायम गरिएको छ ।

यसैगरी बैतडीको सिगास गाउँपालिकाको केन्द्र परिवर्तन गरी गर्जेमा राखिएको छ ।