१६ माघ, पर्वत । पर्वतको मोदी गाउँपालीका ८ चित्रे प्रदेश नं ४ कै पहिलो वालमैत्री वडा घोषणा भएको छ ।
चित्रेलाई सोमवार एक समारोहका वीच प्रदेशको पहिलो वालमैत्री वडा घोषणा गरिएको हो ।
वि.सं. २०६७ साल मंसिर १७ गते देखि वालमैत्री अवधारणाको अभियान थालिएको ७ वर्ष पछि वडालाई वालमैत्री वनाउन सफल भएकोमा स्थानीय खुशी छन् ।
वालवालीको वाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको आधिकार ३६ वटा विभिन्न अधिकारहरुको ग्यारेण्टी भएको सुनिश्चित भएपछि वडालाई वालमैत्री घोषणा गरिएको वडाध्यक्ष सुकवहादुर गुरुङले वताए ।
उनका अनुसार ४०७ घरधुरीका ३९५ जना वालवालीकाले सबै अधिकारको उपभोग गरेको र सरोकारवालाहरु सबैले वालवालीकाको अधिकारलाई व्यवहारमा उतारेपछि वालमैत्री वडा घोषणा गरिएको हो ।
२ हजार २ सय २३ जनसंख्या रहेको चित्रेमा राजनीतिक दल, जनप्रतिनिधी, विद्यालय, आमा समूह, यूवा क्लव, वाल क्लव, होमस्टे समूह लगायतले सामुहिक प्रतिवद्धता गरि गाउँलाई वालमैत्री कायम गरिरहने वाचा गरेका छन् ।
वालमैत्री वडा घोषणा गर्न जिल्ला समन्वय समिति, जिल्ला प्रसासन कार्यालय, खानेपानी तथा सरसफाई कार्यालय, स्वास्थ्य कार्यालय, महिला वालवालीका कार्यालय, प्लान नेपाल लगायतका संघ संस्थाले आर्थिक र प्राविधिक सहयोग गरेका छन् ।
ति निकायले वेलावेलामा प्रशिक्षण, सहजीकरण, अनुगमन जस्ता कार्य गरेर अभियानलाई सार्थक वनाएको वडाध्यक्ष गुरुङले वताए ।
चित्रेले वालमैत्री शासन कार्यान्वयन गर्न ९२ लाखको पञ्चवर्षिय योजना तय गरेको छ ।
मोदी गाउँपालीकाले पूजीँगत वजेटको १० प्रतिशत वजेट वालमैत्री शासनको कार्यान्वयनमा खर्च गर्ने योजना समेत पारित गरेको छ ।
गाउँपालीकाले आफैँ वालमैत्री कार्यविधी तयार गरेर सबै ८ वटै वडालाई अवको पाँच वर्षभित्र वालमैत्री वडा घोषणा गर्ने तयारी गरेको गाउँपालीका अध्यक्ष प्रेमशर्मा पौडेलले जानकारी दिए ।
२०६९ पुष ८ गते खुल्ला दिशामुक्त घोषणा भएको चित्रे २०७१ जेठ २० गते पूर्ण खोपयुक्त वनेको थियो । २०७१ मदौ ७ गते पूर्ण साक्षर भएको यो गाउँ धुवाँमुक्त गाउँ वन्ने तयारीमा छ ।
पर्वतकै पहिलो पर्यटकिय गाउँ वनेको चित्रे अभियान थालिनी गर्ने अगुवा गाउँको नामले चर्चित छ ।
प्रतिनिधी सभा सदस्य पदम गिरीले उक्त वडालाई पहिलो वालमैत्री भएको घोषणा गरे ।
उनले वडा घोषणा संगै यसलाई दिगो रुपमा लैजान आग्रह गरे । वालमैत्री शासनको अभ्यास आजको आवश्यकता रहेकोमा जोड दिँदै गिरीले वालवालीकालाई अहिल्यैदेखी शासनको प्रत्याभूती दिँदा भविष्यमा यसले सकरात्मक नतिजा दिने दावी गरे ।
कार्यक्रममा गिरीसंगै प्रदेश सभा सदस्य नेत्रनाथ अधिकारी, ललितकला गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेल, मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेल, एमालेका भक्त कुवंर, कांग्रेसका विश्वप्रकाश प्रसाई, पत्रकार महासंघका सचिव गणेश गिरी, गैसस महासंघका अध्यक्ष शिवप्रसाद शर्मा लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।
वडा अध्यक्ष सुकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत शुशिलादेवी गुरुङ र प्रगति प्रतिवेदन वडा सचिव गोकुल शर्माले प्रस्तुत गरेका थिए ।




