१५ माघ, पर्वत । २०७२ साल बैशाखमा आएको विनासकारी भुकम्पले अधिकांश नेपालीलाई तहसनहस बनायो ।
कोहीको सिन्दुर पुछियो, कोहीको काख लुटियो त कोही घरबार विहिन बने ।
यस्तै पिडा खेप्दै आएको पर्वतको महाशिला गाउँपालिका १ होश्राङदीको एक परिवारले भने फेसबुकको सहायतामा नमुना घरमा बस्ने अबसर जुटेको छ ।
भुकम्पले घर भत्काइदिएपछि ८० बर्षिय बृद्ध आमा रनकुमारी थापा सहित गोठमा बस्दै आएका अपाङ्गता भएका व्यक्ति कर्णबहादुर थापा मगरले झण्डै चारलाख रुपैँयाको नमुना घरमा बस्ने अवसर पाएका छन् ।
उनीहरुको त्यो अवस्थालाई देखेर स्थानीय समाजसेवी युवा दिनेश गुरुङले हृदयविदारक तस्विरलाई सामाजिक सञ्जालमा सहयोगको अपिल गर्दै राखेपछि कर्णबहादुरलाई नमुना घरमा बस्ने सौभाग्य मिलेको हो ।
त्यही तस्विरलाई सामाजिक सञ्जालमा देखेपछि रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका घर भई हाल हङकङमा बस्दै आउनुभएकी हिरा थापा मगरले उनीहरुलाई घर बनाइदिने अठोट व्यक्त गर्दै सहयोग प्रदान गर्नुभएको हो ।
अहिले ३ लाख ७५ हजारको लागतमा कर्णबहादुरको लागि नमुना घर निर्माण गरी हस्तान्तरण समेत गरिएको छ ।
‘आफ्नो कामको शिलशिलामा घुम्दै गर्दा पिडादायिक अवस्था देखेपछि मैले केही गर्नुपर्छ भन्ने लाग्यो’ युवा दिनेश गुरुङले भन्नुभयो ‘त्यही कुरालाई सामाजिक सञ्जालमा पोष्ट गरेपछि हिरा थापाले सहयोग गर्ने इच्छा जाहेर गर्नुभयो र घर निर्माण पनि सफल भयो’ शनिबार उनलाई घर हस्तान्तरण गर्ने कार्यक्रममा दिनेश गुरुङले सुनाउनुभयो ।
कर्णबहादुरकी ८० बर्षिय आमा रनकुमारी थापाको भने गोठमा बस्दा बस्दै मृत्यु भइसकेको छ ।
मानसिक रुपमा अपाङ्गता भएका कर्णबहादुर नयाँ घरमा बस्ने अवसर जुटेपछि दंग पर्दै खुशी व्यक्त गर्नुभयो ।
हस्तान्तरण कार्यक्रममा सहयोगदाता हिरा थापा मगर आफै उपस्थित हुन नसकेपछि उनका दाजु महेश राना मगर र महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले कर्णबहादुरलाई चापी हस्तान्तरण गर्नुभएको थियो । – सन्तोष थापा




