१७ भदौ, पर्वत । वर्षभरी १० पाथी कोदोको भरमा ६ जनाको परिवार पाल्नुपर्ने बाध्यताबाट छुटकरा पाउन ३ महिना अघि खाडी मुलुक पुगेका नरे दर्जी यतिबेला आफ्नै किड्नीको बीचमा पत्थरी भएको थाहा पाएपछि घर फर्कने कि नफर्कने भन्ने दोधारमा छन्।
साहुबाट महंगो ब्याजमा रकम लिएर उडेका उनलाई आफ्नो स्वास्थ्यको समस्या त छँदैछ, त्यसैमाथि पनि थपिएको छ सन्तान र श्रीमतीको चिन्ता। ‘कम्पनीले नेपाल गएर उपचार गराई भन्छ, साहुको ऋण तिरेको छैन, कसरी नेपाल फर्कुँ या यतै मरु?’ उनले पीडा सुनाए।
श्रीमान्लाई विदेश पठाएपछि आफ्ना बाबुनानीहरुलाई अघाउने गरी खुवाउन सकिएला भन्ने सपना साँचेकी सुकमाया परियारलाई श्रीमान् गएदेखि झन् पीडा थपिएको छ। ३५ वर्षमा ५ सन्तानकी आमा बनिसकेकी सुकमाया यतिबेला ९ वर्षे छोराको उपचार े रकम अभावका कारण रोकिएपछि थप तनावमा छिन्।
रुखबाट खसेपछि रगतमा पिसाव देखिएका कारण मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार गराएकी उनी त्यतिबेला झसङ्ग भईन्, जव डाक्टरले ‘छोराको किड्नीमा समस्या छ, लाखौं लाग्न सक्छ काठमाडौं लिएर जानुहोस्’ भने।
असार २९ गते रुखबाट लडेका सुकमायाका छोरालाई सामान्य उपचारपछि घरमा ल्याएर राखिएको छ। स्थानीय जनज्योति आधारभूत विद्यालय जोगिथुममा कक्षा २ मा पढ्दै आएका वर्ष ९ का शक्तिमान परियार मोदी ३ मुलिचौर (साविक देउराली ७) पर्वत निवासी हुन्।
आर्थिक अभावकै कारण उनी अहिलेसम्म उपचारका लागि काठमाडौंजान सकिरहेका छैनन्। ‘बाउले फोन गर्दा यताको भन्दा उताकै बढी दुःख सुनाउनुहुन्छ, बाउ छोरा दुवैलाई रोगले च्याप्यो। हामी गरीव कसरी बाँच्ने हो’ सुकमायाले रुँदै भनिन्।
‘श्रीमान्ले कमाएर ल्याउलान् भनेर विदेश पठाएको पनि उनी आफैं विरामी भए, अब त छोराको उपचार गरुँ कि बुढाको? म आफै पागल हुँला जस्तो भएकी छु’ सुकमाया परियारले भनिन्–‘साहुको अँधिया, ठेक कमाएर परिवार पालेकी छु। दिनभरी निमेक नगरी खानु छैन, मैले भरी पेट कहिल्यै खाकी छैन। यिनीहरुले राम्रो लाउने र खाने त परै जाओस्।’
सुकमाया यतिबेला श्रीमान् र छोराको पीरले गहभरी आँसु बनाउँदै सहयोगी हात खोज्दै हिँड्न थालेकी छन्। तर विदेशमा भएका श्रीमान्को त परै जाओस् काखमा लम्पसार परेका छोरालाई काठमाडौं हिँडाउने हिम्मत समेत जुटेको छैन। ‘खान नपाए भोकै बसुँला, गोठालो खेतालो गरुँला, तर मेरो छोराको उपचार गर्दिन पाए हुन्थ्यो’ उनले मनको धोको सुनाईन्।




