Print

क्षेत्र निर्धारण आयोगले भोली प्रतिवेदन बुझाउँदै, पर्वतमा कति होलान निर्वाचन क्षेत्र ?

१२ भदौ, पर्वत । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन क्षेत्र तय गरी प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ ।
२१ दिने कार्यावधिभित्र क्षेत्र निर्धारण गर्न नसकेपछि आयोगले थपिएको १५ दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउन लागेको हो । आयोगका अनुसार प्रतिवेदन मंगलबारभित्र सरकारलाई बुझाइसकिनेछ । आयोगले प्रदेश सभाका लागि ३३० र प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र निर्धारण गरेको छ । हरेक जिल्लाको निर्वाचन सीमा निर्धारण गरी नक्सासहितको प्रतिवेदन तयार भइरहेको छ ।

आयोगले ७७ वटा जिल्लामा प्रतिनिधिसभाका लागि कम्तीमा एउटा निर्वाचन क्षेत्र हुने गरी प्रतिवेदन तयार गरेको छ । संविधानले जिल्लामा कम्तीमा एउटा निर्वाचन क्षेत्र रहने र बाँकी निर्वाचन क्षेत्र जनसंख्याका आधार निर्धारण हुने व्यवस्था गरेको छ । सोहीअनुसार ७७ जिल्लामा ७७ निर्वाचन क्षेत्र कायम भएपछि बाँकी ८८ वटा निर्वाचन क्षेत्र जनसंख्याका आधारमा निर्धारण भएको छ ।

जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्दा प्रदेश नम्बर ३ मा सबैभन्दा बढी अर्थात् ३३ वटा भएको स्रोतको भनाइ छ । स्रोतका अनुसार प्रदेश नम्बर २ मा ३२ र सबैभन्दा कम निर्वाचन क्षेत्र भने प्रदेश नम्बर ६ मा १२ वटा तय गरिएको छ ।

पर्वत जिल्लामा भने साविक दुई वटा निर्वाचन क्षेत्र छन । पर्वत क्षेत्र न १ उत्तरी भेगमा पर्छ भने क्षेत्र न २ दक्षिणबर्ती क्षेत्रमा छ । निर्वाचन क्षेत्र निर्धारण समितिले भूगोल र जनसंख्यालाई आधार बनाएर क्षेत्र निर्धारण गरेका कारण जिल्लामा दुई वटा क्षेत्र निर्धारण हुने निश्चित जस्तै छ, तर भूगोल भने फरक पर्न सक्छ । जनसंख्याका आधारमा पर्वत क्षेत्र न १ भन्दा क्षेत्र न २ मा जनसंख्या कम छ । स्थानीय तहको निर्वाचनमा मतदाताको गणना हेर्दा झण्डै ८ हजार मतदाता क्षेत्र न २ मा कम छन । आयोगले जनसंख्यालाई सन्तुलन गर्दा क्षेत्र न १ का केहि वडाहरु भने क्षेत्र न २ मा पर्नसक्ने देखिन्छ । ८ हजार मतदातालाई सन्तुलनमा राख्न भने जिल्लाका मोदी पारीका वडाहरुलाई क्षेत्र न २ मा समायोजन गर्नुपर्ने हुन्छ ।

आयोगले साविककको निर्वाचन क्षेत्रलाई फेरवदल गरेरमा राजनैतिक समीकरण समेत जिल्लामा फरक पर्ने देखिन्छ । यद्यपि आयोगले अन्तिम प्रतिवेदन नबुझाएसम्म त्यसको विषयमा थप जानकारी बाहिर आएको छैन । आयोगले बुझाएको प्रतिवेदनलाई सरकारले हुबहु पारित गर्छ या परिर्वतनका लागि प्रयास गर्छ त्यो क्षेत्र निर्धारणका सम्बन्धमा राजनैतिक बृत्तमा चल्ने छलफलमा निर्धारण हुनेछ । भौगोलिक दृष्टिकोणले निकै सानो पर्वत जिल्लामा प्रदेशका लागि दुई वटा निर्वाचन क्षेत्र र संघका लागि १ वटा निर्वाचन क्षेत्र कायम हुने सम्भावना छ । प्रदेशका लागि हुने दुई निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरुले प्रदेश सरकार गठन गर्नेछन भने संघका लागि निर्वाचित हुने सांसदहरुले केन्द्रिय सरकारको गठन गर्नेछन । सरकारले आगामी मंसीर १० गते दुवै निर्वाचन एकै पटक गर्ने प्रस्ताव गरिसकेको छ । यदि तोकिएको मितिमा फेरवदल भएन भने आगामी मंसीर १० गते हुने निर्वाचनमा जिल्लाले प्रदेशमा २ र केन्द्रमा १ सांसद पठाउने सम्भावना देखिन्छ ।