२६ साउन, पर्वत । पर्वतमा चालु आर्थिक बर्षमा काठेपोल बिस्थापित हुने भएको छ । नेपाल बिद्युत प्राधिकरण पर्वतले यसबर्ष कम्तीमा चार हजार काठे पोल बिस्थापित गर्ने योजना वनाएको जानकारी दिएको छ । शरुमा काठका पोल गाडेर बिद्युतिकरण गरिएको भएपनि ती पोलहरु भाचिने र कुहिने समस्याले यसबर्ष सबै काठका पोल बिस्थापित गर्ने तयारी भएको बिद्युत प्राधिकरण पर्वत शाखाका प्रमुख विजयराज रेग्मीले जानकारी दिनुभयो । यसबर्ष पर्वतमा झण्डै चारदेखि पाँच हजार फलामे पोल आइपुग्ने र सामुदायिक बिद्युतिकरण बाहेकको वडाका सबै काठेपोल बिस्थापित हुने रेग्मीले जानकारी दिनुभयो । पर्वतमा सामुदायिक बिद्युतिकरणका आठ हजार र बिद्युत प्राधिकरण बिद्युतिकरण भएका वडामा पाँच हजार काठका पोल छन् ।
स्थानीय विकास अधिकारी बिष्णुप्रसाद भुसालले पर्वतका १३ हजार काठका पोलमध्ये जिल्ला समन्वय समितिले गत आर्थिक बर्ष एक हजार फलामे पोल खरिद गरेर बितरण गरेको जानकारी दिनुभयो । त्यस्तै गत आर्थिक बर्ष बिद्युत प्राधिकरणले पर्वतमा एक हजार एक सय ३२ वटा काठे पोल बिस्थापित गरेको छ । १३ हजार काठे पोलमध्ये जिल्ला समन्वय समिति र बिद्युत प्राधिकरणले गरी आर्थिक बर्ष २०७३/२०७४ मा दुई हजार एक सय ३२ वटा काठका पोल बिस्थापित गरेका छन् ।
गत आर्थिक बर्ष पर्वत क्षेत्र नम्बर १ का सांसद अर्जुनप्रसाद जोशी र क्षेत्र नम्बर २ का सांसद विकास लम्सालको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट तीन सय पोल खरिद गरिएको थियो भने जिल्ला समन्वय समितिको आन्तरिक स्रोतबाट सात सय फलामे पोल खरिद गरिएको थियो । चालु आर्थिक बर्षमा पनि फलामे पोल बितरण गर्ने जिल्ला समन्वय समितिले जनाएको छ । समन्वय समितिमार्फत खरिद गरिएको एक हजार पोल सामुदायिक बिद्युतीकरण भएका वडामा काठे पोलको संख्याको आधारमा बितरण गरेको स्थानीय विकास अधिकारी भुसालले जानकारी दिनुभयो । पर्वतमा बर्षौदेखि गाडीएका काठका पोल कुहेर दुर्घटना हुने अवस्थामा समेत छन् । गाउँका धेरै ठाउँमा पोलहरु ढलेपछि बाँसको टेको लगाएर समेत बिद्युतको तार टागिएको अवस्था छ ।
स्थानीय तहको निर्वाचनमा पर्वतका अधिकांश उम्मेदवारले आफ्नो कार्यकालभित्र हाल रहेका काठका पोल बिस्थापित गरी फलामे पोल गाड्ने प्रतिबद्धता जनाएका थिए । निर्वाचनमा प्रतिबद्धता जनाएपनि स्थानीय तहको बजेटमा भने फलामे पोल खरिदमा बजेट बिनियोजन गरेका छैनन् । कुश्मा नगरपालिकाबाहेक फलेबास नगरपालिका, पैंयूँ, महाशिला, बिहादी, मोदी र जलजला गाउँपालिकाले आर्थिक बर्ष २०७३/०७४ को बजेट सार्वजनिकरण गरिसकेका छन् ।




