२२ साउन, पर्वत । फलेवास नगरपालिका ४ साविकको मुडिकुवा ६ सिर्सुवाका मेघराज भुसालको काठमाण्डौमा हत्या भएको छ । भुसालको यूवतीको प्रयोग गरि हत्या भएको हो । राजधानीमा एक एयरलाईन्समा जागिरे रहेका भुसालले लगानी गरेको कृषि फर्ममा काम गर्ने कामदारले हत्या गरेकी हुन् ।
ललितपुरको साविकको गिल्मी गाविसकी ४२ वर्षिय कान्छिमाया भनिने फुलमाया तामाङले भुसाललाई कोखामा छुरीले हानेर हत्या गरेकी हुन् । उनी आफैँ हत्या गरेको भन्दै प्रहरी कार्यालय भैसेपाटिमा पु्गेकी थिईन ।
प्रारम्भिक वयानमा तामाङले आफुलाई वलात्कारको प्रयास भएकोले प्रतिकार गर्दा भुसालको मृत्यु भएको प्रहरीलाई वयान दिएको हत्याको विषयमा अनुसन्धान गरिरहेका प्रहरी नायव उपरिक्षक श्याकुमार राईले जानकारी दिए ।
प्रहरीले तामाङलाई ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ । प्रहरीले वयान लिने क्रममा कान्छिमायाका श्रीमान लाई पनि नियन्त्रणमा लिएको छ । भुसालले अन्य तिनजना संग शेयर गरेर कृषि फर्ममा लगानी गरेका थिए ।
वलात्कारको वहानामा लगानीकर्ताहरुले षडयन्त्रपूर्वक भुसालको हत्या गरेको आफन्तजनले आरोप लगाएका छन् । महिलाको प्रयोग गरेर लगानी गर्ने सहपाठीले नै उनको हत्या गरेको भन्दै प्रहरीलाई अनुसन्धानको दायरा फराकिलो वनाउन आफन्तहरुले दवाव दिएका छन् ।
महिलाले वलात्कारको प्रयास भएको खण्डमा हत्या गरेपनि कारवाहि छुट हुने मुलुकी ऐनमा व्यवस्था रहेको छ । त्यहि व्यवस्थाको फाईदा उठाउन महिलाको प्रयोग गरिएको आफन्तजनको दावी रहेको छ ।
साउन १८ गते विहान ११ .३० मा हत्या भएको मेघराज भुसालको साउन २० गते आर्यघाटमा अन्तेष्टि गरिएको छ । ज्वार्इँको हत्याको दुखद खबरले उहाँका ससुरा पर्वतको पिपलटारीका मुक्तिराम पौडेलको पनि मृत्यु भएको छ । मृत्युको खबर सुनेपछि क्यान्स रोगले ग्रसित रहेका पौडेलको अकस्मात मृत्यु भएको हो ।
४१ वर्षिया भुसालका वुवा, आमा, एक श्रीमती हुनहुन्छ । श्रीमती विदुत प्राधिकरणमा अधिकृत पदमा कार्यरत छिन् । उनका ११ वर्षको छोरी, १० महिनाको छोरा छन् ।




