२६ असार, पर्वत । नेपालकै अग्ला पुलहरुका भएको कुश्मा अचेल सवैको लागि परिचित ठाउँ बनेको छ । अग्ला पुलका कारण चर्चा कमाएको पर्यटकीय नगर कुश्मामा आउने पर्यटकहरुको संख्या पनि बढिरहेको छ । पर्यटकको संख्या बढदै जाँदा अग्ला पुलहरु जाने बाटो कच्चि हुँदा यात्रा भने असहज हुँदै आएको थियो ।
कच्चि बाटोमा कारहरु सञ्चालन गर्दा वीच भागका ठूला खाल्टा र ढुंगाहरुमा ठोकिने समस्या थियो । अग्ला पुलहरुको यात्रालाई सहजता ल्याउनका लागि कुश्मा नगरपालिकाले कालोपत्रे गर्ने कार्य अगाडि बढाएसंगै अव भने यात्रा सहज हुने भएको छ । धुलो, खाल्डा र सास्तीपूर्ण यात्राबाट अव भने झोलुंगे पुल हुँदै यात्रा गर्ने सर्वसाधारण र पर्यटकहरुले सहज यात्राको अनुभूति गर्न पाउने भएका छन ।
चालु आर्थिक बर्षमा कुश्मा नगरपालिकाले उक्त सडाक कालोपत्रे गरेको हो । कुश्मा देखि वलेवा जोड्ने सडक कालोपत्रे भईसकेको छ भने, कुश्मा देखि ज्ञादी जोड्ने पुल सडक कालोपत्रे हुँदैछ ।




