२७ असार, पर्वत । नेकपा (एमाले) ले स्थानीय निर्वाचन सम्पन्न भइसकेका ६७ जिल्लाका पार्टी कमिटीहरुलाई जिल्ला समन्वय समितिको प्रमुख तथा उपप्रमुखका लागि केन्द्रमा नाम सिफारिश गर्न १५ दिनको समय दिएको छ । जिल्ला कमिटीको सुझावका आधारमा प्रदेश कमिटीहरुले केन्द्रमा नाम सिफारिश गर्ने र स्थायी समितिले निर्णय गर्ने कार्यविधि एमालेले तय गरेको छ ।
सोमबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी समितिको ६९ औँ बैठकले उक्त निर्णय गरेको केन्द्रीय सचिवालयका सचिव प्रदीप ज्ञवालीद्वारा जारी वक्तव्यमा उल्लेख छ । बक्तव्यमा भनिएको छ, ‘सम्बन्धित जिल्ला कमिटीको सुझावका आधारमा जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुखहरुको नाम १५ दिनभित्र पार्टी केन्द्रमा सिफारिस गरी पठाउन प्रदेश संगठन कमिटीलाई निर्देशित गरिन्छ । जिल्ला समन्वय समितिका सदस्यहरुको हकमा सम्बन्धित जिल्ला कमिटीले नै निर्णय गर्नेछन् ।’
स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि अब संविधान अनुसार जिल्ला समन्वय समितिहरुको निर्वाचन हुन बाँकी छ । एमालेले पहिले झैँ जिल्ला कमिटीबाट एक महिलासहित तीन जनाको नाम मागेको छ ।




