२६ असार, बागलुङ । बडीगाड गाउपालिका– २ खारापानी खर्वाङ बजार नजिकै बडीगाड खोलामा सोमवार बिहान बेवारिसे महिलाको शव भेटिएको छ । स्थानीयवासीले खोलामा शव तैरिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शव बाहिर निकालेको छ ।
सञ्चारकर्मी कमल पौडेलका अनुसार इलाका प्रहरी कार्यालय हरिचौरबाट प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीको नेतृत्वमा त्यहाँ पुगेको टोली र खर्बाङ प्रहरीको संयुक्त प्रयासमा केही समयअघि अपरिचित महिलाको शव खोलाबाट बाहिर निकालिएको हो ।
महिलाको शवको पहिचान हुन सकेको छैन । बडीगाड खोलाले बगाउँदै ल्याएको अधवैंसे महिलाको शव हत्या गरी फालिएको हुनसक्ने आशंका पनि गरिएको छ । मृतक महिलाको निधारमा चोट लागेको देखिन्छ । महिलाको शवको पहिचानका लागि प्रहरीले खोजखबर गर्ने भएको छ ।




