७ जेठ, पर्वत । कालीगण्डकी नदीमा पहिचान हुन नसकेको शव फेला परेको छ । सडीसकेको अवस्थामा उक्त शव फेला परेको हो । २ दिन अघि फेला परेको उक्त शवलाई पहिचानको प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक शेखर खनालले बताएका छन । नदीको पारी किनारा बागलुङ जिल्लाको छिस्तिमा पर्ने गाइथुनेघाटमा उक्त शव फेला परेको हो ।
वेवारिसे अवस्थामा फेला परेको उक्त शवलाई पहिचानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्ला अस्पताल ल्याउने तयारी गरेको छ । केहि दिन अघि देखि पर्वतको कुश्माबाट वेपत्ता भएका २१ बर्षिय युवा नारायण पौडेल हुनसक्ने आशंका गर्दै प्रहरीले पौडेलको परिवार समेतको सल्लाहमा उक्त शवलाई थप पुष्टीका लागि अस्पताल लगिन लागेको प्रहरी नायव उपरिक्षक खनालले जानकारी दिए । बेवारिसे लासलाई स्पष्ट रुपमा पौडेलको परिवारले पहिचान गर्न नसके पछि डिएनए परिक्षण वा अन्य परिक्षणद्धारा पहिचानको प्रयास हुने खनालले बताए ।
उता परिवारले भने पहिलो पल्ट शवको निरिक्षण गर्दा पौडेल नभएको बताएपनि दोस्रो पटक शव हेर्दा उनले घाँटीमा लगाएको माला र दाँतका आधारमा पौडेल हुनसक्ने अनुमान गरेका छन । शवलाई अञ्चल अस्पताल बागलुङमा पोप्टमार्टम गरिने भएको छ ।




