७ जेठ, पर्वत । स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई एमालेले बधाई ज्ञापन गरेको छ । एमाले जिल्ला कार्यालयमा आयोजीत एक कार्यक्रमका वीच एमालेले नवनिर्वाचित नगर र गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र नगर तथा गाउँसभा सदस्यहरुलाई सामूहिक रुपमा बधाई ज्ञापन गरेको हो ।
एमालेले पर्वतमा ४ स्थानीय तहमा प्रमुख र उपप्रमुख सहित ३७ वडामा विजयी हासिल गरेको थियो । निर्वाचित जनप्रतिनिधिहरुलाई आगामी दिनमा कार्यसम्पादन प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने निर्देशन सहितको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमको एमालेले आयोजना गरेको हो ।
कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य तथा प्रदेश न ४ का सह–संयोजक गणेश तिमिल्सीना, अनुशासन आयोगका केन्द्रिय सदस्य गणेशप्रसाद पौडेल, सांसद कल्पना चापागाई, सांसद विकास लम्साल, एमाले नेता मोती पौडेल लगाएतले विजयी जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।
उनीहरुले जनमुखी ब्यवहार गर्न निर्देशन समेत दिए । पार्टीको इज्जत नजाने गरी जनतामुखी शासन गर्न विजयी जनप्रतिनिधिहरुलाई एमालेले निर्देशन दिएको छ । कार्यक्रमको सञ्चालन एमाले पाटी सचिव तथा फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, स्वागत पाटी उपाध्यक्ष भक्त कुवंर र कार्यक्रमको अध्यक्षता एमाले पर्वतका अध्यक्ष पदम गिरीले गरेका थिए ।





