१८ जेठ, पर्वत । अन्ततः कुश्मा नगरपालिका पनि एमालेको कोल्टामा परेको छ । एमालेले नगर सभामा दुई तिहाई बहुमत सहितका सदस्य सहित विजयी हासिल गरेको हो । बुधबार भएको नगर सभाको निर्वाचनमा एमालेका ८ जनाले विजयी प्राप्त गरेसंगै नगर सभामा एमालेको दुई तिहाइ सहितको बहुमत प्राप्त भएको हो । योसंगै कुश्मा नगरपालिकाको प्रमुख र उपप्रमुख कांग्रेसले जिते पनि नगरसभामा भने एमालेको स्पष्ट बहुमत देखिएको छ ।
प्राविधिक कारणले नगर प्रमुख हारेपनि जनताको जनमत भने एमालेको पक्षमा रहेको आजको मतपरिणामले देखाएको एमाले जिल्ला उप सचिव गोविन्द पहाडीले पर्वत न्यूज डटकमलाई बताए । एमालेको पक्षमा देशभर लहर उर्लिएको बेला कुश्मा नगरपरिषदको निर्वाचन पनि त्यसैको सानो उदाहरण मात्र रहेको उनको भनाई छ । निर्वाचनमा निर्वाचित सदस्यहरु मध्ये दलितबाट मनोहर विश्वकर्मा पौडेलले ३८ मत प्राप्त गरेकाछन ।
एमालेको तर्फबाट उमेदवार भएका उनले एमालेका बाहेक पनि १ मत प्राप्त गरेका हुन । बाँकी सदस्यहरुले भने एमालेका ३७ जना सदस्यको मत प्राप्त गरेको एमाले उप सचिव पहाडीले जानकारी दिए । यो संगै मोदी गाउँपालिका, महाशिला गाउँपालिका, फलेवास नगरपालिका र कुश्मा नगरपालिकामा एमालेको स्पष्ट बहुमत आएको छ । जिल्लाका ४ स्थानीय तह जितेको एमालेले ४ वटा स्थानीय तहमा स्पष्ट बहुमत र एक स्थानीय तह (विहादी गाउँपालिका) मा अध्यक्ष र उपाध्यक्ष सहितको टिम विजयी भएको छ ।
मतदानबाट डम्मर नेपाली, देवेन्द्र नेपाली र मनोहर विश्वकर्मा निर्वाचित भएका छन । यसैगरी वडा महिला सदस्यहरुबाट तारादेवी सार्की, देवी नेपाली, नन्दकला क्षेत्री, राधिका कुमारी शर्मा, सुमित्रा पौडेल निर्वाचित भएका छन ।





