Print

भरतपुरको जस्तै रोचक मतदान आज पर्वतमा : कुश्मा नगरपालिका एमालेले कब्जा गर्ला त ?

१८ जेठ, पर्वत । स्थानीय तहको निर्वाचन देशब्यापी रोचक बन्दै गइरहेको बेला पर्वतको चुनाव पनि रोचक बनिरहेको छ । मतगणना सकिएको झण्डै दुई हप्ता पछि हुन लागेको नगरसभा र गाउँसभाको चुनाव रोचक बन्न लागेको हो । जिल्लाका ७ स्थानीय तह मध्ये महाशिला गाउँपालिका र मोदी गाउँपालिकामा निर्विरोध गाँउसभाका प्रतिनिधिहरु छानिइसकेका छन ।

गाउँसभाका लागि निर्वाचित गाउँपालिकाका सदस्यहरु मध्ये महिलाबाट ४ र दलित वा अल्पसंख्यकबाट २ गरी ६ जनालाई चयन गर्नुपर्ने हुन्छ भने नगरसभाका लागि निर्वाचित महिलाबाट ५ र दलित वा अल्पसंख्यकबाट ३ गरी ८ जना निर्वाचित गर्नुपर्ने हुन्छ । यसरी निर्वाचित भएकाहरु गाउँ वा नगरसभाका सदस्य हुन्छन ।

उनीहरुको हैसियत वडाअध्यक्ष सरहको हुन्छ । जिल्लाको जलजला गाउँपालिकामा एक्लै नेपाली कांग्रेसले गाउँसभाको गठन गर्ने गरी बहुमत प्राप्त गरेको छ । उक्त गाउँपालिकामा ६ जना गाउँसदस्य कांग्रेसको तर्फबाट निर्वाचित हुनेछन । उता, विहादीमा एमाले र माओवादी वीच सहमती गरेर गाउँसभा गठनको तयारी भएको छ ।

सवै स्थानीय तहमा आज नै चुनाव हुने गरी मिति तय भएका कारण आज पर्वतमा चुनावी रौनक भने बढेर गएको छ । पैयूमा कांग्रेसको स्पष्ट बहुमत आएका कारण उक्त गाउँपालिकामा पनि कांग्रेस एक्लैले गाउँसभा गठन गर्नेछ ।

एता कुश्मा नगरपालिका भने निकै रोचकपूर्ण छ । कुल ७२ जना निर्वाचित सदस्य मध्ये ३७ सदस्य एमाले र ३५ जना सदस्य कांग्रेसले जितेको छ । एमालेसंग स्पष्ट बहुमत भएपनि निर्वाचनको मतपरिणाम कस्तो हुन्छ भन्ने आम चासोको विषय बनेको छ ।

आज हुने नगरसभाको निर्वाचनका लागि एमालेले निर्वाचितबाट ५ जना महिला र दलितबाट ३ जना दलित सदस्यलाई उमेदवार बनाएको छ भने, कांग्रेसले पनि ५ जना निर्वाचित महिला सदस्य र दलित तथा अल्पसंख्यकबाट ३ जनालाई उमेदवार बनाएको छ । आज ८ जना नगरसदस्यका लागि गोप्य मतदान हुँदैछ ।

मतदान गोप्य भएको र दुवै राजनैतिक दलले आफ्नो पक्षमा मतदात गराउनका लागि निर्वाचित सदस्यहरुलाई प्रभावित पार्न सक्ने भएका कारण आजको मरिणाम निकै रोचक हुनसक्नेछ । मुख्य कुरा कुश्मा नगरपालिकाको प्रमुख र उपप्रमुख पद नेपाली कांग्रेसले जितेपनि निर्वाचित सदस्यहरु मध्ये १४ वडामा ९ वडा अध्यक्ष एमालेका भएका कारण कांग्रेस पूर्णतः अल्पमतमा छ ।

आज हुने निर्वाचनमा यदि एमालेमा ८ जना सदस्य थपिएमा कुल २४ नगरसभामा एमालेका १७ जना हुनेछन । यो संख्या कुल नगरसभाको लागि झण्डै दुई तिहाई हो । एमालेसंग बहुमत सहितको दुई तिहाइ संख्या हुँदा प्रमुख पद कांग्रेसले जितेपनि नगरपालिकामा योजना कार्यान्वयन र निर्णय प्रक्रियामा एमालेको पूर्णहात हुनेछ । कांग्रेस एमालेको यहि संख्या फुत्काउने दाउँमा छ । निर्वाचित सदस्यलाई खरिद, बिक्री गरेरै वा प्रलोभन देखाएरै भएपनि आफ्नो पक्षमा कांग्रेसले मतदान गराउनसक्ने सम्भावना छ ।

आज दिउँसोबाट हुने मतदानका लागि एमालेका सवै निर्वाचित सदस्यहरु तयारी अवस्थामा रहेको र मतदान पछि एमालेको दुई तिहाइ सहितको स्पष्ट बहुमत आउनेमा एमाले ढुक्क देखिएको छ । उता कांग्रेसले भने आन्तरीक तयारी अनुसार आफ्नो पक्षमा बहुमत आउने जिकिर गरेको छ । आजको मतदानको नतिजासंगै कुश्मा नगरपालिकाको भविश्य कस्को हातमा जाने भन्ने निधो हुने अनुमान गरिएको छ ।