Print

को बन्ला जिल्ला समन्वय समिति पर्वतको सभापति, एमालेले एक्लै समिति बनाउने

८ जेठ, पर्वत । स्थानीय तहको निर्वाचन सकिएसंगै सवै तहमा जनप्रतिनिधिहरुले पदवाल सम्हालीसकेका छन । जिल्लाका ६१ वडा र ७ स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएका हुन । योसंगै ७ वटै तहमा गाउँ र नगर सभा गठनको तयारी पनि भईरहेको छ । प्रत्येक नगर र गाउँमा कार्यपालिका, ब्यवस्थापीका र न्यायपालिकाको गठन हुन्छ । कार्यपालिका गठनको तयारी स्थानीय तहहरुमा भईरहदा त्यहाँ बहुमत र अल्पमतको समेत गणना भईरहेको छ ।

जिल्लाको मोदी गाउँपालिका, फलेवास नगरपालिका र महाशिला गाउँपालिकामा एमालेको स्पष्ट बहुमत छ भने पैयूमा कांग्रेसको स्पष्ट बहुमत छ । उता कुश्मा नगरपालिकाको प्रमुख र उपप्रमुख कांग्रेसले जितेपनि एमालेको स्पष्ट बहुमत देखिएको छ । बाँकी जलजला गाउँपालिका कांग्रेसले जितेपनि स्पष्ट बहुमत छैन भने विहादी गाउँपालिका एमालेले जितेपनि त्यहाँ पनि एमालेको स्पष्ट बहुमत छैन ।

उता, जिल्ला सभाका लागि भने एमालेको स्पष्ट बहुमत देखिएको छ । जिल्ला सभाका लागि गठन हुने जिल्ला समन्वय समितिमा बढिमा ९ सदस्यीय बनाउन सकिने कानूनी प्रावधान छ । उक्त समितिमा भने एमालेका मात्रै सदस्यहरु आउनसक्नेछन । एमालेले बहुमत प्राप्त गरेका कारण अन्य पार्टीको प्रतिनिधित्व जिल्ला सभामा हुनेछैन । जिल्ला सभा गठनका लागि हुने जिल्ला समन्वय समितिको सभापति र उप सभापतिमा एमालेबाट को जान्ने भन्ने बहस शुरु भएको छ । जिल्ला अध्यक्ष पदम गिरीले पार्टी भित्र छलफल गरेपछि मात्रै यस विषयमा बोल्न सकिने बताए ।

एमालेले पार्टीमा योगदान पुराएका बडा कमिटिका सदस्यहरुबाट समन्वय समितिको गठन गर्नेछ । भूगोल, योगदान र सक्षमतालाई पार्टीले आधार बनाएर समिति गठन गर्ने गिरीले जानकारी दिए । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा पनि एमालेले पर्वत स्पष्ट बहुमत प्राप्त गरेको थियो र जिल्ला सभापति उप सभापति सहितका पदाधिकारीहरु एमालेको कोल्टामा परेको थियो । २० बर्ष पछाडी भएको निर्वाचनमा पनि एमालेले २०५४ सालको विरासत कायम गरेको छ ।

५४ सालको सभापतिको अधिकारलाई भने नयाँ संविधानले कटौती गरेको छ । आलंकारी सभापतिको संविधानले परिकल्पना गरेका कारण कार्यकारी अधिकार विहिन सभापतिको कूर्चिमा केहि हप्ता भित्र नयाँ नेतृत्व आउने निश्चित प्रायः छ ।