Print

पर्वतमा कहाँ कहाँ भत्किए एमाले र कांग्रेसका लालकिल्ला र गढहरु

५ जेठ, पर्वत । विगत देखि एमालेको लालकिल्ला मानिदै आएको पर्वतको कुश्मा नगरपालिका १२ ठुलिपोखरी र विहादी गाउँपालिका ३ रानीपानी यस पटक कांग्रेसले भत्काइदिएको छ । संख्या र संगठनमा बलियो मानिएका यी दुवै वडामा एमालेले प्यानल जित्ने घोषणा गरेपनि अन्ततः निर्वाचनमा कांग्रेसले दुवै लालकिल्ला भत्काएको हो । ठुलिपोखरीमा २ वटा वडा सदस्य कांग्रेसले जित्यो योसंगै एमालेको दावालाई कांग्रेसले चुनौति दियो । वडा अध्यक्ष, दलित महिला सदस्य र एक वटा खुल्ला सदस्य एमालेले जितेपनि कांग्रेसले खुल्ला महिला सदस्य र एक सदस्य जित्यो । एमालेले पार्टी भित्रै अन्तरघातका कारण हार बेहोर्नु परेको दावी गरेको छ ।

उता, रानीपानीमा पनि एमालेले लामो समय देखि पकड जमाउँदै आएपनि अन्ततः स्थानीय तहको निर्वाचनमा कांग्रेसले वडा अध्यक्ष सहित एक सदस्यको जीत हासिल गरयो । एक वडा अध्यक्ष र एक खुल्ला सदस्य कांग्रेसले जितेपनि बाँकी ३ सदस्य भने एमालेले नै जितेको छ ।

उता, कांग्रेसले आफ्नो गढ मान्दै आएको कुश्मा नगरपालिका १ पाङ एमालेले भत्काइदिएको छ । पाङ कांग्रेसको आधारभूमि मानिदै आएपनि यस पटकको निर्वाचनमा वडा अध्यक्ष एमालेले जित्यो । योसंगै कांग्रेसले आफ्नो बलियो क्षेत्र गुमाएको छ । बाँकी ४ सदस्य कांग्रेसले जितेपनि वडा अध्यक्ष भने बचाउन सकेन । यसैगरी कुश्मा नगरपालिकाको वडा न ७ पनि कांग्रेसको बलियो क्षेत्र हो । साविकको शिवालय गाविस वडा न १, २, ३ समावेश उक्त वडामा वडा अध्यक्ष सहित एक सदस्य एमालेले जित्यो । ३ सदस्य कांग्रेसले जितेपनि वडा अध्यक्ष सहित एमालेले उक्त क्षेत्रमा आफ्नो पकड जमाउन सफल भयो ।

उता, मोदीगाउँपालिकाको वडा न २ देउपुर पनि कांग्रेसको उपस्थिती बलियो मानिएको वडा हो । उक्त वडामा पनि एमालेले वडा अध्यक्ष सहित ३ जना सदस्य जित्यो । योसंगै मोदीगाउँपालिकामा पनि एमालेले कांग्रेस गढमा धावा बोल्यो । एमालेको कमजोर मानिएको मोदीगाउँपालिकाकै वडा न ४ क्याङ वडामा पनि एमालेको सहज जित भयो । उता, फलेवास नगरपालिका स्थित २ नम्बर वडा थापाठानाको गढ पनि एमालेले भत्कायो । कांग्रेसको बाक्लो उपस्थिती मानिएको उक्त वडामा वडा अध्यक्ष एमालेले जितेको हो । बाँकी ४ सदस्य भने कांग्रेसले जित्यो ।

फलेवास नगरपालिकाकै वडा न ९ भगराको किल्लामा पनि एमालेले धावा बोल्यो । कांग्रेसले आफ्नो उपस्थिती बलियो मानेको उक्त वडाबाट कांग्रेसले उप प्रमुखका उमेदवार नगरपालिकामा प्रस्तुत गरेको थियो,  तर एमालेले उपप्रमुखका उमेदवारकै वडामा अध्यक्ष सहित ५ वटै सिट एमालेले कब्जा गरयो ।

यसरी एमाले र कांग्रेसले बलियो मान्दै आएका केहि वडाहरु भने विपक्षी दलले कब्जा गरे ।