Print

‘पैसाले भोट किन्ने दिन गए’ – तिमिल्सीना

५ जेठ, पर्वत । नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेश प्रसाद तिमिल्सीनाले पैसाले भोट किन्नेर चुनाव जित्छु भन्ने नेताहरुलाई कटाक्ष गर्दै पैसाले भोट किन्नेका दिन गएको बताएका छन । शुक्रबार पर्वतको मोदी गाउँपालिकामा एमालेले आयोजना गरेको विजयी सभालाई सम्बोधन गर्दै जनतामा चेतनाको स्तर बृद्धि हुँदै गएको भन्दै पैसाले खरिद गरेर चुनाव जित्ने दिन अव नेपालमा नरहेको जिकिर गरेका हुन ।

मोदी गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष सहित ९० प्रतिशत भन्दा बढि गाउँ सदस्यहरु विजयी गरेको अवसरमा आयोजीत विजयी सभालाई तिमिल्सीनाले सम्बोधन गर्दै एमालेको हातमा अव गाउँको विकास गर्ने जिम्मा आएको दावी गरे । धेरै पटकसम्म जनताबाट निर्वाचीत भएर पनि जनताको पक्षमा कुनै काम नगर्ने नेताहरुलाई एमालेको नेतृत्वमा रहेको गाउँपालिकाको विकासले उदाहरण बनेर देखाउने उनले दाबी समेत गरे । सभालाई सम्बोधन गर्दै नेता तिमिल्सीनाले पछिल्लो पटक भएको स्थानीय निकायको निर्वाचनमा जस्तै जनताले एमालेलाई नै विश्वास गरेका कारण जनताको विश्वासलाई संस्थागत गर्न एमाले सधै तयार रहेको समेत उद्घोष गरे ।

कार्यक्रममा एमाले वैकल्पिक केन्द्रिय सदस्य गोविन्द नेपालीले नेपाली कांग्रेसले जनतालाई खरिद गरेर निर्वाचन जित्ने कल्पना अवबाट नगर्न चेतावनी समेत दिए । पर्वतका सवै स्थानीय तहमा एमाले सशक्त भूमिकामा जनताद्धारा निर्वाचित भएका कारण एमालेको शक्तिलाई कमजोर नठान्न उनले अनुरोध समेत गरे ।

कार्यक्रममा प्रदेश कमिटि सदस्य मनोहर वि. पौडेल, एमाले पर्वतका उपाध्यक्ष भक्त कुवंर, वडा न ६का अध्यक्ष तथा युवा संघका अध्यक्ष विमल लामिछाने लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा मोदी गाउँपालिकामा विजयी भएका वडा अध्यक्ष र वडा सदस्यहरुलाई सम्मान तथा बधाई ज्ञापन समेत गरिएको थियो ।