Print

‘एमाले पर्वतले २०५४ सालको विरासत जोगायो’ (प्रेस विज्ञप्ति सहित)

५ जेठ, पर्वत । नेकपा एमाले पर्वतले २०५४ सालको विरासत जोगाएको छ । झण्डै २० बर्ष पछि भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले २०५४ सालको उपलब्धिलाई २०७४ सालमा पनि निरन्तरता दिएको हो ।

एमालेले २०५४ सालमा जिल्ला विकास समितिको सभापति, उपसभापति र बहुमत सदस्य सहित ३६ वटा गाउँ विकास समितिका अध्यक्ष जितेको थियो । ५५ गाउँ विकास समितिमा ३६ वटा वडा जितेको एमालेले स्थानीय तहको पुर्नसंरचना पछिको चुनावमा ३७ वटा वडाका वडा अध्यक्ष, बहुमत स्थानीय तह जितेको हो ।

शुक्रबार सदरमुकाम कुश्मा बजार स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमालेले उक्त दावी गरेको छ । पत्रकार सम्मेलनमा बोल्र्दै एमालेका वैकल्पिक केन्द्रिय सदस्य गोविन्द नेपालीले कांग्रेसका आधार इलाकाहरु भत्किएको दावी गरे । बहुमत एमालेसंग भएका कारण कांग्रेसले एक्लै केहि गर्न नसक्ने बताउदै उनले जनताको माया सधै एमालेमा रहेको समेत जिकिर गरे ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरीले एमालेले जनताले दिएको मायाको कोसेलीको रुपमा मतपरिणामलाई आफूहरुले हेरेको भन्दै मतको कोसेलीको उपहार जनताको आँखामा एमालेले सधै हाँसो दिने समेत उद्घोष गरे । अध्यक्ष गिरीले लामो समय पछि स्थानीय तहले जनप्रतिनिधि पाएकाले अवका गाउँ विकासमा एमालेले जनतासंग मिलेर जाने बताए ।

बहुमत वडा र स्थानीय तह सहितको मतदानका लागि मतदाता, कर्मचारी र पत्रकारलाई धन्यवाद दिदै गिरीले निर्वाचनले जनताको साथमा एमाले रहेको पुष्टि गरेको समेत बताए । पत्रकार सम्मेलनको सञ्चालन पार्टी उप सचिव गोविन्द पहाडीले गरेका थिए ।