Print

मुस्ताङ घुम्ने सिजन शुरु, कुश्माका होटल खचाखच

१७ चैत्र, पर्वत । विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्यमा सूचीकृृत भएपछि उपल्लो मुस्ताङ क्षेत्रको भ्रमण गर्न जाने सिजन शुरु भएको छ । विश्वप्रख्यात ट्राभल गाइड लोन्ली प्लानेटले सन् २०१३ का लागि उपल्लो मुस्ताङलाई विश्वकै १० उत्कृष्ट गन्तव्यमध्ये तेस्रो स्थानमा सूचीकृत गरेपछि मुस्ताङ जीवनमा एक पटक घुम्नै पर्ने भ्रमणस्थलको सुचिमा सुचिकृत भएको हो ।

चिसो मौसम सकिएसंगै मुस्ताङ घुम्ने पर्यटकका कारण पर्वतको कुश्माका होटलहरु पनि खचाखच हुन थालेका छन । धौलागिरी क्षेत्रको प्रवेशद्धार मानिएको पर्वतको कुश्मा बजारमा मुस्ताङ जाने र फर्कने पर्यटकहरुले होटलहरु भरीभराउन हुन थालेका हुन ।

कुश्माको होटल बन्दनाका सञ्चालक कृष्णप्रसाद श्रेष्ठका अनुसार दैनिक सयौको संख्यामा पर्यटकहरुले होटलहरुबाट सेवा लिइरहेका छन ।

मुस्ताङ पुगेपछि उपल्लो मुस्ताङ जाने पर्यटकको संख्यामा पनि पछिल्लो पल्ट बृद्धि भएको छ । मुस्ताङ जानका लागि म्याग्दीबाट कच्चि सडक प्रयोग गर्नुपर्छ । सिजन शुरुभएसंगै दैनिक मोटरसाइकलमा मात्रै सयौको संख्यामा पर्यटकहरु मुस्ताङ घुम्नका लागि हिडेको डिमुवा प्रहरी चौकीले जनाएको छ ।

विदेशी पर्यटकको पहिलो रोजाइमा पर्ने मुस्ताङ अचेल स्वदेशी पर्यटकहरुको समेत रोजाइमा पर्न थालेपछि मुस्ताङ घुम्ने आन्तरीक र बाह्य पर्यटकको संख्यामा ह्वातै बृद्धि हुन थालेको हो ।

प्राचीनकालमा निर्माण गरिएका गुम्बा, काँचो माटोबाट निर्मित घर, दरबार र घरका रूपमा प्रयोग भएका गुफा मुस्ताङको आकर्षण हो । कला र हिमाली संस्कृतिको अध्ययन तथा अनुसन्धानका लागि पनि यो क्षेत्र उपयुक्त मानिन्छ ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस