Print

रोट्रयाक्ट क्लबद्धारा दुर्लुङमा ४ लाख ७० हजार बराबरको सहयोग वितरण

१४ फागुन, पर्वत । जिल्लाको कुश्मा नगरपालिका ७ स्थित दुर्लुङ्गकोटमा आर्थिक रुपमा विपन्न, दलित तथा एकल महिलालाई बाख्रा वितरण गरिएको छ । सामाजिक क्षेत्रमा क्रियाशील रोट्रयाक्ट क्लव अफ पर्वत, एकता युवा क्लव र सोच समुहको संयुक्त आयोजनामा २४ वटा परिवारलाई एक/एकओटा बाख्रा वितरण गरिएको हो ।

आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको अािर्थक स्तरोन्नतीका लागि उन्नत जातका बाख्रा वितरण गरिएको हो । आशा प्रोजेक्ट, सोच समुह, रोटरी डिष्ट्रिक ७५१० न्युजर्सी र रोटरी क्लव अफ पर्वतको सहयोगमा त्यहाँका विपन्न परिवारलाई बाख्रा वितरण गरिएको हो । कृषकहरुलाई हस्तान्तरण गरिएका बाख्राबाट प्रत्येक कृषकले एक पाठी क्लवलाई फिर्ता गर्ने तथा क्लवमा फिर्ता गरिएका पाठी अन्य कृषकहरुलाई वितरण गरिने रोट्रयाक्ट क्लव अफ पर्वतका अध्यक्ष आरसी पौडेलले बताए ।

कार्यक्रममा नै दुर्लुङ्गकोटको पर्यावरण संरक्षणका लागि २० वटा धुपी र अशोकाका बिरुवा समेत रोपिएको छ । यसले कोटको परिवेशमा रहेका वातावरणको संरक्षण र आकर्षण वृद्धि गर्ने पौडेलले जानकारी दिए । त्यस्तै वृक्ष संरक्षणका लागि ट्रिगार्ड समेत वितरण गरिएको छ । वृक्ष संरक्षणको लागि वार्षिक रुपमा १२ हजार आफूले सहयोग गर्ने बताउँदै उनले दुर्लुङ्गकोटको मन्दिरको लागि ५० थान कुर्सी र दुईओटा टेबल उपलब्ध गराउने समेत प्रतिबद्धता व्यक्त गरे । त्यस्तै सोही कार्यक्रममा नगरपालिका ७ का तीनओटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री समेत वितरण गरिएको छ । काफलचौर मावि, सूर्यप्रकाश मावि र दालपोखरी प्राविका ६० जना विद्यार्थीलाई झोला तथा पोसाक वितरण गरिएको हो ।

त्यस्तै संस्कृति संरक्षणका लागि एक थान भजन सामाग्री पनि सहयोग गरिएको छ । कार्यक्रममा प्रमुख अतिथी सकरात्मक सोचका अभियन्ता कर्ण शाक्यले मानिस परजीवि नभई श्रमजीवि प्राणी भएको हुँदा युवाहरुले सिर्जनात्मक काम गरेर मात्रै सहयोगका कार्य गर्नुपर्ने बताए । त्यस्तै स्थानीयको सहयोग पाएको खण्डमा दुर्लुङ्गकोटमा विकासका योजनाहरु ल्याउन पहल गर्ने समेत उनले प्रतिबद्धता व्यक्त गरे । त्यस्तै आशा प्रोजेक्टका सिईओ तथा  डा. तुलसी महर्जनले उद्धेश्य अनुसारको कार्य गर्नका लागि सदा तत्पर रहन आग्रह गरेका थिए ।

कार्यक्रममा रोटरी क्लव अफ पर्वतका अध्यक्ष गणेश पौडेलले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा रोट्रयाक्ट क्लव अफ पर्वत, रोटरी क्लव अफ पर्वत, एकता युवा क्लव, पत्रकार, शिक्षक, विद्यार्थीहरुको उपस्थिती रहेको थियो । एकता युवा क्लवका अध्यक्ष अच्युत तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुर्लुङ्गकोट मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शुकबहादुर गुरुङ्गले धन्यवाद मन्तव्य राखेका थिए । रोट्रयाक्ट क्लव अफ पर्वतका अध्यक्ष आरसी पौडेलको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य अन्तिम गुरुङ्गले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस