पर्वत, असोज १७ । मालढुंगा स्थित कालीगण्डकी पुलको एप्रोच सडक निर्माणमा चुनौती देखिए पनि सडक विभागले तीव्र गतिमा काम अघि बढाएको छ। विभागले पुलको एप्रोच सडकअगाडि नदीको सतहभन्दा करिब आठ मिटर तलसम्म गहिरिएको भाग पुरी प्लेटफर्म निर्माण गरिसकेको छ ।
एप्रोच सडक निर्माणका लागि ठूलो परिमाणमा माटो, ढुंगा तथा गिटी आवश्यक पर्ने भए पनि आसपास पर्याप्त निर्माण सामग्रीको स्रोत नहुँदा काम प्रभावित भएको जनाइएको छ। सुरुमा निर्माणस्थलबाट करिब दुई किलोमिटर अगाडिबाट निर्माण सामग्री ल्याउने गरिएकोमा त्यहाँबाट सामग्री ल्याउन रोकिएपछि करिब १० किलोमिटर टाढाको पहिरोबाट माटो तथा ढुंगा ल्याएर काम गर्नुपर्ने अवस्था आएको छ ।
निर्माण सामग्रीको व्यवस्थापनमा आएको समस्याका कारण निर्धारित समयअनुसार काम अघि बढ्न नसकेको बताइएको छ। निर्माणस्थल साँघुरो हुनुका साथै अग्लो पर्खाल (वाल) निर्माण गर्नुपर्ने भएकाले प्राविधिक रूपमा समेत काम चुनौतीपूर्ण रहेको छ।
सडक विभागले उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्दै काम अघि बढाइरहेको र निर्माण सामग्री तथा अन्य आवश्यक सहयोग सहज रूपमा उपलब्ध भएमा करिब सात दिनभित्र कालीगण्डकी पुल सञ्चालन गर्न सकिने अवस्थामा पुर्याउने लक्ष्य राखेको छ।




