Print

पर्वत र आसपास क्षेत्रमा भिषण वर्षा : नदी तथा खोलाका यी तटीय बस्ती उच्च जोखिममा

१३ भदौ, पर्वत । शुक्रबार रातिदेखि पर्वतसहित आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । लगातारको भिषण वर्षाका कारण जिल्लाका प्रमुख नदी तथा खोलाहरूमा पानीको सतह र बहाव बढ्न सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दामा बाढीको त्रास बढेको छ ।

पर्वतको प्रमुख नदी कालीगण्डकीसँगै मोदी खोला, पातीखोला, लमायखोला, भुरुङ्दीखोला, लस्ती खोला, सेतीखोला, रती खोलालगायतका नदी तथा खोलाका तटीय क्षेत्रलाई बाढीको जोखिमयुक्त क्षेत्र मानिन्छ । जिल्ला विपद् व्यवस्थापन समितिको प्रतिकार्य योजनाले पनि पर्वतका यी प्रमुख नदी तथा खोलाहरूलाई मनसुनका समयमा जोखिमका रूपमा औँल्याएको छ ।

विशेषगरी बेनी बजारदेखि मालढुंगा हुँदै सेतीबेणीसम्मको कालीगण्डकी नदी आसपासका बस्ती तथा बजार क्षेत्र उच्च जोखिममा रहेका छन् । कालीगण्डकीको जलसतह बढ्दा जलजला गाउँपालिकाका नदीकिनारका बस्ती, कुश्मा नगरपालिका क्षेत्रको मालढुंगा, नयाँपुल तथा मोदीवेणी र फलेवास तथा बिहादीतर्फका तटीय क्षेत्र प्रभावित हुन सक्ने जोखिम रहन्छ । यसअघि पनि कालीगण्डकीमा पानीको बहाव बढ्दा मालढुंगा, लस्ती, खनियाँघाट र सेतीबेणी बजारलाई उच्च जोखिममा राखिएको थियो ।

सेतीबेणी क्षेत्र झनै संवेदनशील मानिन्छ । कालीगण्डकी र सेतीखोलाको बहाव एकै ठाउँमा मिसिने भएकाले ठूलो वर्षा हुँदा यहाँ पानीको सतह तीव्र रूपमा बढ्ने गरेको छ । गत असारमा लगातारको वर्षापछि कालीगण्डकी र सेतीखोलाको जलसतह बढ्दा सेतीबेणीस्थित शालिग्राम शिला डुबानमा पर्नुका साथै बजारसमेत उच्च जोखिममा परेको थियो ।

त्यस्तै, मोदी खोलामा समेत भारी वर्षापछि पानीको सतह बढ्ने गरेको र तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गर्दै आएको छ । खोलामा पानीको बहाव बढेका बेला काठदाउरा निकाल्ने, माछा मार्ने वा अन्य कामका लागि नदी तथा खोलाको किनारमा नजान आग्रह गरिएको छ ।

लगातारको वर्षाका कारण नदी तथा खोलाको सतह जुनसुकै बेला बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई रातको समयमा विशेष सतर्कता अपनाउन, नदीको बहाव नजिक नजान, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सुरक्षित स्थानमा राख्न र जोखिमको संकेत देखिए तत्काल सुरक्षित स्थानतर्फ सर्न आग्रह गरिएको छ ।

सम्भावित बाढी, पहिरो र डुबानको जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय र विपद् व्यवस्थापन संयन्त्रलाई समेत उच्च सतर्क अवस्थामा रहनुपर्ने देखिएको छ । पछिल्ला वर्षहरूमा कालीगण्डकी र सेतीखोलामा आएको बाढीले सेतीबेणी क्षेत्रमा भौतिक संरचनासमेत प्रभावित पारेको तथ्यले पनि अहिलेको निरन्तर वर्षालाई सामान्य रूपमा नलिनुपर्ने देखाउँछ ।