Print

बाढीपीडितका लागि विहादी गाउँपालिकाले १ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने

११ भदाैं, पर्वत । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि पर्वतको विहादी गाउँपालिकाले १ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने भएको छ।

२०८३ साल भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीबाट ठूलो जनधनको क्षति भएको थियो। बाढीका कारण रसुवासहित विभिन्न जिल्लामा मानवीय तथा भौतिक क्षति भएको छ। सरकारी विवरणअनुसार बाढीपछि खोज तथा उद्धार कार्य जारी रहेको थियो।

विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उपलब्ध गराउने निर्णय गरेको हो।

गाउँपालिका अध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक परविन गुरुङको संयोजकत्वमा २०८३ भदौ ११ गते बसेको बैठकले सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको जनाइएको छ।

विहादी गाउँपालिकाले बाढीका कारण अमूल्य जीवन गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै बाढीमा परी घाइते भएका सबै नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि स्थानीय तहलगायत विभिन्न निकायबाट सहयोग जुट्ने क्रम जारी रहेको छ। सरकारले समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न आह्वान गरेको छ।