माग अनुसार एलपी ग्यास नआएपछि उपभोक्ता मर्कामा, पसल–पसलमा सिलिण्डर खोज्दै धाउनुपर्ने बाध्यता
२ भदौ, पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजारमा खाना पकाउने एलपी ग्यासको अभाव झन् चर्किएको छ। बजारको मागअनुसार ग्यास आपूर्ति नहुँदा उपभोक्ता खाली सिलिण्डर बोकेर पसल–पसल धाउनुपर्ने अवस्थामा पुगेका छन् भने व्यवसायीले आफूले माग गरेको ग्यासको एक चौथाइ मात्र पाउने गरेको बताएका छन्।
कुश्माका एक ग्यास विक्रेताका अनुसार पसलले ४० सिलिण्डर ग्यास माग गर्दा जम्मा १० सिलिण्डर मात्रै प्राप्त भएको छ। मागको तुलनामा आपूर्ति अत्यन्तै न्यून भएपछि नियमित रूपमा ग्यास बिक्री गर्ने व्यवसायीसमेत उपभोक्ताको माग धान्न नसक्ने अवस्थामा पुगेका छन्।
‘‘४० माग्दा १० मात्रै आयो, उपभोक्तालाई कसरी पुर्याउने’ अहिले कुश्माका ग्यास व्यवसायीको साझा समस्या बनेको छ। मागअनुसार ग्यास नआएपछि पसलमा ग्यास लिन पुग्ने उपभोक्तालाई पालो लगाउने, नाम टिप्ने वा अर्को दिन आउन आग्रह गर्ने अवस्था सिर्जना भएको व्यवसायीहरू बताउँछन्।
यसअघि नै पर्वतमा ग्यासको आपूर्ति कमजोर रहेको तथ्य सार्वजनिक भइसकेको थियो। पर्वतमा मासिक करिब ७ हजार सिलिण्डर ग्यासको माग हुने गरेकोमा पछिल्लो १५ दिनमा करिब ३ हजार ३ सय सिलिण्डर मात्रै भित्रिएको व्यवसायीहरूले बताएका थिए। मागको तुलनामा आपूर्ति कम भएपछि जिल्लाका विभिन्न बजारमा ग्यासको अभाव देखिएको र उपभोक्ताले घण्टौँ लाइन बस्नुपर्ने तथा पालो कुर्नुपर्ने अवस्था बनेको थियो।
त्यसको केही दिनमै समस्या थप गम्भीर बनेर ‘कुश्मामा मागको एक चौथाइ मात्र ग्यास आउने अवस्था’ देखिएको हो। जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको कुश्मामा नै माग धान्ने गरी ग्यास नआएपछि यसको प्रत्यक्ष असर घरायसी उपभोक्तादेखि होटल, रेस्टुरेन्ट तथा व्यवसायिक प्रतिष्ठानसम्म परेको छ।
ग्यासको अभावका कारण नियमित खाना पकाउने उपभोक्ता सबैभन्दा बढी समस्यामा परेका छन्। घरमा रहेको सिलिण्डर सकिएपछि नयाँ सिलिण्डर लिन खोज्दा सहजै नपाइने अवस्था छ। कतिपय उपभोक्ता ग्यास पाइने आशामा बिहानै पसलमा पुग्ने र दिनभर पालो कुर्नुपर्ने अवस्थासमेत रहेको बताउँछन्।
ग्यासको माग घटेको छैन, तर आपूर्ति घट्दै गएपछि समस्या बढेको व्यवसायीहरूको भनाइ छ। बजारमा उपभोक्ताको आवश्यकता नियमित भए पनि त्यसअनुसार ग्यासको कोटा नआउँदा उपलब्ध सीमित सिलिण्डर कसलाई दिने भन्ने समस्या व्यवसायीलाई परेको छ।




