३ भदाैं, पर्वत । औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको सम्भावना, कानुनी व्यवस्था, कृषकको हित र स्थानीय आर्थिक विकासका विषयमा पर्वतको बिहादी गाउँपालिकामा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।
गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालको गरिमामय उपस्थितिमा बिहादी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती (नियमन र उपयोग) ऐन, २०८३ का विषयमा केन्द्रित रहेर छलफल गरिएको हो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, गाउँपालिकाका जनप्रतिनिधि तथा वडा अध्यक्षहरूले गाँजा खेतीसम्बन्धी आफ्नो धारणा राखेका थिए। वक्ताहरूले कानुनी प्रबन्ध स्पष्ट गर्दै स्थानीय कृषकलाई लाभ पुग्ने गरी खेतीको सम्भावनाको अध्ययन, नियमन, उत्पादन र बजारीकरणमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए।
गाँजा खेतीलाई लागुऔषधका रूपमा दुरुपयोग हुन नदिई औषधि तथा औद्योगिक कच्चा पदार्थ उत्पादनको वैधानिक क्षेत्रका रूपमा विकास गर्न सकिए स्थानीय स्तरमा रोजगारी तथा आम्दानीका अवसर सिर्जना हुनसक्ने विषयमा समेत छलफल भएको थियो।
कार्यक्रममा कानुनले तोकेको प्रक्रिया, कृषकको सहभागिता, उत्पादनको नियमन तथा स्थानीय तहको भूमिकालगायत विषयमा विचार आदान–प्रदान गरिएको थियो। सहभागीहरूले नयाँ कानुनी व्यवस्थाले सिर्जना गरेको सम्भावनालाई स्थानीय आवश्यकता र कृषकको हितसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखेका थिए।
बिहादी गाउँपालिकाका अध्यक्ष परबिन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मिना तिवारी, प्रमुख प्रशासकीय अधिकृत थमनबहादुर रेश्मीलगायतको सहभागिता थियो।
कार्यक्रमले गाँजा खेतीलाई नियमनसहित औषधिजन्य तथा औद्योगिक प्रयोजनमा उपयोग गर्ने कानुनी व्यवस्थाबारे स्थानीय तह, राजनीतिक दल र सरोकारवालाबीच साझा बुझाइ निर्माण गर्ने अपेक्षा गरिएको छ।




