२ भदौ, पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा रु. १ करोड ४० लाखको लागतमा नवनिर्मित वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ। सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, बागलुङमार्फत निर्माण गरिएको भवनको सोमबार एक समारोहबीच कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उद्घाटन गरेका छन्।
भवन उद्घाटन गर्दै नगरप्रमुख जोशीले आफू कुश्मा नगरपालिकाको नेतृत्वमा निर्वाचित भएको करिब साढे नौ वर्षको अवधिमा नगरका विभिन्न क्षेत्रमा उल्लेख्य पूर्वाधार विकास भएको दाबी गरे। दुई कार्यकालमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, विद्युत् तथा सिँचाइजस्ता क्षेत्रमा महत्वपूर्ण काम गरिएको बताउँदै उनले नागरिकले स्थानीय सरकारको अनुभूति गर्ने गरी सेवा प्रवाह र विकास निर्माणलाई प्राथमिकता दिइएको बताए।
उनले आफ्नो कार्यकालको बाँकी समयमा अधुरा रहेका विकास निर्माणका कामलाई समेत पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयसँगको सहकार्यमा गत आर्थिक वर्षमा कुश्मा नगरपालिकाका दुई वटा वडा कार्यालय भवन, एक व्यावसायिक भवन तथा विभिन्न स्थानमा गरी करिब नौ किलोमिटर सडक कालोपत्रे गरिएको उनले जानकारी दिए।
नवनिर्मित वडा कार्यालय भवनमा सात वटा कार्यकक्षसहित एउटा सभाहल रहेको छ। भूकम्पका कारण पुरानो वडा कार्यालय भवन जीर्ण बनेपछि नयाँ भवन निर्माण गरिएको हो। नयाँ भवन सञ्चालनमा आएपछि नागरिकलाई वडा तहबाट उपलब्ध हुने सेवा तथा प्रशासनिक काममा सहजता हुने अपेक्षा गरिएको छ।
कुश्मा नगरपालिका–८ चुवाका वडा अध्यक्ष सुरेन्द्र केसीले पुरानो जीर्ण भवनबाट सेवा प्रवाह गर्न कठिनाइ हुँदै आएको बताए। नयाँ भवन निर्माण भएपछि दैनिक प्रशासनिक सेवा प्रवाहसँगै सभा, सम्मेलन, गोष्ठी तथा सामाजिक कार्यक्रम सञ्चालन गर्नसमेत सहज हुने उनको भनाइ छ। उनले नयाँ भवनबाटै मंगलबारदेखि वडा कार्यालयको नियमित सेवा सञ्चालन गरिने जानकारी दिए।
कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजाल, प्रमुख प्रशासकीय अधिकृत किरण पौडेल, वडा नं. ६ का अध्यक्ष ईश्वर गिरी, वडा नं. १२ का अध्यक्ष झलक रिमाललगायतले स्थानीय तहबाट प्रभावकारी सेवा प्रवाहका लागि पर्याप्त र सुविधायुक्त भौतिक पूर्वाधार आवश्यक रहेको बताए। उनीहरूले पूर्वाधार विकाससँगै कुश्मा नगरपालिका क्रमशः समृद्धिको दिशातर्फ अघि बढिरहेको धारणा राखे।
गत आर्थिक वर्षमा कुश्मा नगरपालिकाले करिब रु. ४९ करोडको बजेटमार्फत विभिन्न पूर्वाधार निर्माणका काम अघि बढाएको जनाएको छ। सोही अवधिमा वडा नं. ८ चुवा र वडा नं. १ पाङमा वडा कार्यालय भवन निर्माण गरिएको हो। त्यस्तै कुश्मा नगरपालिका–५ मा व्यावसायिक भवन निर्माण गरिएको तथा नगरका १४ वटै वडामा गरी करिब नौ किलोमिटर सडक कालोपत्रे गरिएको नगरपालिकाले जनाएको छ।
नयाँ वडा कार्यालय भवन निर्माणसँगै चुवाका स्थानीयवासीले अब एउटै स्थानबाट सहज, व्यवस्थित र सुविधाजनक रूपमा वडा तहका सरकारी सेवा प्राप्त गर्ने भएका छन्।




