१९ असार, पर्वत । जिल्लाको कुश्मा नगरपालिकाका ३ वटा स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । कुश्मा नगरपालिकाले नगर भित्रका ३ वटा संस्थाहरुको सामाजिक परिक्षण सम्पन्न गरेको हो । संघीय सरकारको शशर्त कार्यक्रम अन्तर्गत सम्पन्न सामाजिक परिक्षण कार्यका लागि नगरपालिकाले ३ वटा संस्थाहरुको छनौट गरेको स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो ।
नगरपालिकाले कुश्मा नगरपालिका वडा न १२ ठुलिपोखरीमा रहेको कुश्मा आधारभूत अस्पताल, कुश्मा नगरपालिका वडा न १ पाङमा रहेको कुश्मा स्वास्थ्य चौकी तथा कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा रहेको दुर्लुङ स्वास्थ्य चौकीको सामाजिक परिक्षण सम्पन्न गरेको हो ।
नगरपालिकाले प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले सुचिकृत गरेका सामाजिक परिक्षकबाट उक्त सामाजिक परिक्षण कार्य सम्पन्न गरेको जनाएको छ । सरकारले स्वास्थ्य संस्थाको सामाजिक जवाफदेहिता मार्गदर्शन २०७७ जारी गरेको छ । मार्गदर्शन बमोजीम स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण कार्य सञ्चालन गरिएको हो ।
समाजिक परिक्षणमा निःशुल्क प्रसुति सेवा र प्रसूति प्रोत्साहन रकम लिने विवरणलाई विश्लेषण गर्नुका साथै स्वास्थ्य संस्थाहरुमा वितरण गरिएको निशुल्क औषधिहरु तथा सेवा प्रवाहको अध्ययन गरिएको थियो । स्वास्थ्य संस्थाको खर्च आम्दानीका साथै खोप, परिवार नियोजन र सुरक्षित मातृत्व कार्यक्रमबाट लाभान्वितहरुको विवरण तथा सेवा लिएर फर्केका सेवाग्राहीसंग अन्र्तवार्ता समेत लिइएको थियो ।
३ वटै संस्थाहरुको सामाजिक परिक्षणको सरोकारवालाहरुको आमभेला समेत सम्पन्न भएको छ । भेलाको सहजीकरण सुचिकृत सामाजिक परिक्षक गणेश गिरीले गर्नुभएको थियो । कुश्मा आधारभूत अस्पतालको भेलामा बोल्दै वडा अध्यक्ष झलक प्रसाद रिमालले अस्पताललको गुणस्तर सुधारमा सवै पक्षको सहयोग हुुनुपर्ने धारणा राख्नुभयो ।
कुश्मा स्वास्थ्य चौकी पाङको भेलामा बोल्दै वडा अध्यक्ष खगराज पौडेलले स्वास्थ्य चौकीको सेवालाई प्रभावकारी बनाउनका आवश्यक श्रोत साधनको कमी नहुने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
आज सम्पन्न दुर्लुङ स्वास्थ्य चौकीको भेलामा बोल्दै वडा अध्यक्ष तेजप्रसाद पाध्याले स्वास्थ्य क्षेत्रमा कम बजेट हुँदा हुँदै पनि कर्मचारीहरुले उत्कृष्ट सेवा प्रवाह गरीरहेको बताउनुभएको थियो । भेलामा सरोकारवाहरुले सेवा प्रवाहका विषयमा आफ्नो धारणा र सुझाबहरु प्रस्तुत गर्नुभएको थियो ।




