१८ असार, पर्वत । मोदी गाउँपालिकाले सुरक्षित खानेपानीमा नागरिकको पहुँच विस्तार गर्ने उद्देश्यका साथ सञ्चालन गरेको तिलाहार बोरिङ खानेपानी आयोजना सफल भएको छ। गाउँपालिकाकै पहिलो बोरिङ प्रविधिमा आधारित खानेपानी आयोजनाबाट करिब १६० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन्।
वर्षौंदेखि खानेपानीको अभाव झेल्दै आएका तिलाहार क्षेत्रका स्थानीयका लागि आयोजना आशाको किरण बनेको छ। परम्परागत मुहानमा पानीको मात्रा घट्दै जानु, सुक्खायाममा पानीको चरम अभाव हुनु तथा जलवायु परिवर्तनको असरका कारण खानेपानी संकट बढिरहेका बेला भूमिगत जलस्रोतको उपयोग गर्दै सञ्चालन गरिएको यो आयोजना गाउँपालिकाको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउनु स्थानीय सरकारको पहिलो दायित्व भएको बताउँदै तिलाहार बोरिङ खानेपानी आयोजना त्यस अभियानको कोशेढुङ्गा भएको बताइन्।
उनले भनिन्, “खानेपानी नागरिकको आधारभूत आवश्यकता मात्र होइन, आधारभूत अधिकार पनि हो। गाउँपालिकाले ‘एक घर–एक धारा’ अभियानलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। तिलाहारमा बोरिङमार्फत सफलतापूर्वक पानी निकाल्न सफल हुनु हामीका लागि ठूलो उपलब्धि हो। अब खानेपानीको समस्या रहेका अन्य बस्तीमा पनि आवश्यकता र सम्भाव्यताका आधारमा यस्ता दिगो योजनालाई विस्तार गर्नेछौँ।”
गाउँपालिका उपाध्यक्ष बिमल लामिछानेले सुरक्षित खानेपानीको पहुँच विस्तार गर्दै समृद्ध मोदी निर्माण गर्ने अभियानमा यो आयोजना अर्को महत्वपूर्ण उपलब्धि भएको बताए।
उनले भने,-“तिलाहारमा वर्षौंदेखि रहेको खानेपानीको समस्या समाधानतर्फ यो आयोजना प्रभावकारी बनेको छ। स्थानीय सरकारले नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका आवश्यकता पूरा गर्न प्राथमिकता दिएको छ। सुरक्षित खानेपानी उपलब्ध गराउनु स्वास्थ्य, सरसफाइ र समग्र जीवनस्तर सुधारसँग पनि जोडिएको विषय हो।”
प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीका अनुसार पछिल्ला वर्षहरूमा परम्परागत मुहानहरू सुक्दै जानु र पानीको बहाव घट्दै जाँदा धेरै ग्रामीण बस्तीमा खानेपानी संकट बढ्दै गएको छ। यस्तो अवस्थामा वैज्ञानिक अध्ययनका आधारमा भूमिगत जलस्रोतको उपयोग गर्नु दिगो समाधानका रूपमा अगाडि आएको उनले बताए।
“तिलाहार क्षेत्रमा गरिएको प्राविधिक अध्ययनपछि भूमिगत जलस्रोत पर्याप्त रहेको पुष्टि भयो। त्यसपछि बोरिङमार्फत पानी निकाल्ने योजना अघि बढाइयो र परीक्षण सफल भएको छ। अब करिब १६० घरधुरीले नियमित र सुरक्षित खानेपानी सुविधा प्राप्त गर्नेछन्,” उनले भने।
उनका अनुसार बोरिङ प्रविधिबाट प्राप्त पानीले वर्षायाम र सुक्खायाम दुवै समयमा नियमित आपूर्ति गर्न सक्ने भएकाले परम्परागत मुहानमा निर्भर हुनुपर्ने बाध्यता पनि घट्नेछ। यसले खानेपानी व्यवस्थापनलाई थप दिगो र भरपर्दो बनाउने अपेक्षा गरिएको छ।
खानेपानीको अभावका कारण दैनिक घण्टौँ समय पानी बोक्न बाध्य स्थानीय महिलाहरू, ज्येष्ठ नागरिक तथा बालबालिकाले आयोजना सञ्चालनमा आएपछि ठूलो राहत महसुस गर्ने अपेक्षा गरिएको छ। घरघरमा धारा पुगेपछि समयको बचत हुनुका साथै सरसफाइ, स्वास्थ्य र घरेलु जीवन पनि सहज बन्ने विश्वास गरिएको छ।
गाउँपालिकाले सुरक्षित खानेपानीलाई विकासको आधारभूत पूर्वाधारका रूपमा लिएर योजनाबद्ध रूपमा लगानी गर्दै आएको जनाएको छ। विशेषगरी मुहान सुक्दै गएका तथा पानीको चरम अभाव भएका बस्तीमा बोरिङसहित वैकल्पिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखिएको छ।
तिलाहार बोरिङ खानेपानी आयोजनाको सफलतासँगै मोदी गाउँपालिकाले अघि सारेको ‘एक घर–एक धारा’ अभियानले थप गति लिने अपेक्षा गरिएको छ। गाउँपालिकाले आगामी वर्षहरूमा खानेपानी संकट भएका अन्य वडामा समेत सम्भाव्यता अध्ययन गरी यस्ता दिगो आयोजना विस्तार गर्ने तयारी गरेको जनाएको छ।
स्थानीय सरकारको यो पहलले तत्काल खानेपानी समस्या समाधान गर्नुका साथै जलवायु परिवर्तनका कारण बढ्दै गएको पानीको संकटसँग जुध्न दीर्घकालीन आधार तयार गर्ने विश्वास गरिएको छ।




