Print

बाच्छामा वडा कार्यालयको नयाँ प्रशासनिक भवन उद्घाटन


असार ११, पर्वत । विहादी गाउँपालिका–१ स्थित बाच्छा वडा कार्यालयको नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन समारोह बिहीबार सम्पन्न भएको छ।


वडा कार्यालयको प्रशासनिक भवन परविन गुरुङको प्रमुख आतिथ्यता, मिना शर्मा तिवारीको विशिष्ट आतिथ्यता तथा चित्र बहादुर गुरुङको अध्यक्षतामा उद्घाटन गरिएको हो।


समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष गुरुङले नयाँ प्रशासनिक भवन सञ्चालनमा आएपछि वडा कार्यालयबाट प्रदान गरिने सेवा थप व्यवस्थित, प्रभावकारी र सेवाग्राहीमैत्री बन्ने विश्वास व्यक्त गरे। उनले स्थानीय सरकारलाई जनउत्तरदायी र सहज रूपमा सेवा प्रवाह गर्न भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका रहने बताए।


उपाध्यक्ष तिवारीले वडा कार्यालयको आफ्नै प्रशासनिक भवन सञ्चालनमा आउनु स्थानीयवासीका लागि खुसीको विषय भएको उल्लेख गर्दै सेवाको गुणस्तर अझ प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन्।


कार्यक्रमका अध्यक्ष तथा वडा अध्यक्ष चित्र बहादुर गुरुङले भवन निर्माणमा सहयोग गर्ने सबै निकाय, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीप्रति आभार व्यक्त गर्दै नयाँ भवनबाट वडावासीलाई छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराइने प्रतिबद्धता जनाए।
स्थानीय जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको उद्घाटन समारोह सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।