Print

विहादी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्दै

११ असार, पर्वत । विहादी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न भएका योजना, कार्यक्रम तथा सेवा प्रवाहको समीक्षा गर्दै नागरिकका गुनासा, सुझाव तथा प्रतिक्रिया संकलन गर्न वडा तहमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्ने भएको छ।


गाउँपालिकाले सूचना जारी गर्दै असार १२ गतेदेखि १७ गतेसम्म सबै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्न लागिएको जनाएको हो। कार्यक्रम बिहान १० बजेदेखि सम्बन्धित वडा कार्यालयमा सञ्चालन हुनेछ। कार्यक्रम अन्तर्गत असार १२ गते वडा नं. ५, असार १३ गते वडा नं. १, असार १४ गते वडा नं. ६, असार १५ गते वडा नं. २, असार १६ गते वडा नं. ३ र असार १७ गते वडा नं. ४ मा सार्वजनिक सुनुवाई गरिनेछ।


गाउँपालिकाले राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षक, नागरिक समाज, सामुदायिक संघसंस्था, आमा समूह, युवा क्लब, उपभोक्ता समितिका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी तथा अन्य सरोकारवालालाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमन बहादुर रेश्मीले सार्वजनिक सुनुवाई कार्यक्रमले स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।


“सार्वजनिक सुनुवाई स्थानीय सरकारको जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम हो। यस कार्यक्रममार्फत नागरिकका सुझाव, गुनासा र प्रतिक्रियालाई प्रत्यक्ष रूपमा सुन्ने तथा आगामी योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरेका छौं,” प्रमुख प्रशासकीय अधिकृत रेश्मीले बताए।


उनले सेवा प्रवाहमा देखिएका समस्या तथा चुनौतीबारे नागरिकसँग प्रत्यक्ष संवाद गरी समाधानका उपाय खोज्ने अवसरका रूपमा सार्वजनिक सुनुवाईलाई उपयोग गरिने समेत जानकारी दिए।

कार्यक्रमबाट प्राप्त सुझावलाई आगामी नीति, योजना तथा बजेट निर्माण प्रक्रियामा समेत समावेश गरिने गाउँपालिकाले जनाएको छ।