Print

स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो

११ असार, पर्वत । विहादी गाउँपालिकाको १९ औँ गाउँसभाले “स्थानीय पेय पदार्थको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०८३” पारित गरेसँगै गाउँपालिकाले स्थानीय कच्चा पदार्थमा आधारित घरेलु पेय पदार्थको उत्पादन, प्रशोधन, ब्रान्डिङ र बजारीकरणलाई कानूनी आधार दिएको छ।

गाउँसभाबाट पारित विधेयकले परम्परागत रूपमा उत्पादन हुँदै आएका कोदो, मकै, जौ, फलफूल तथा जडीबुटीजन्य कच्चा पदार्थबाट निर्मित घरेलु पेय पदार्थलाई व्यवस्थित, गुणस्तरीय र बजारमुखी बनाउने मार्ग प्रशस्त गरेको छ। यससँगै विहादी गाउँपालिका स्थानीय उत्पादनलाई आर्थिक विकासको प्रमुख आधार बनाउने रणनीतिमा अघि बढेको देखिएको छ। गाउँपालिका अध्यक्ष परविन गुरुङ ले विधेयक पारित हुनु केवल कानूनी प्रक्रिया मात्र नभई स्थानीय अर्थतन्त्रको रूपान्तरणको महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले भन्नुभयो, “विहादीमा उत्पादन हुने कोदो, मकै, फलफूल र अन्य स्थानीय कच्चा पदार्थको उचित उपयोग गर्दै उत्पादन, रोजगारी र आय वृद्धि गर्ने हाम्रो लक्ष्य हो। अहिले बाहिरबाट आयात हुने पेय पदार्थको विकल्पका रूपमा स्थानीय उत्पादनलाई कानूनी ढंगले व्यवस्थित गर्दैछौँ। यसले किसान, उद्यमी र युवालाई गाउँमै अवसर सिर्जना गर्नेछ।”

अध्यक्ष गुरुङका अनुसार गाउँपालिकाले मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत उत्पादन हुने कोदोजन्य घरेलु मदिराको ब्रान्डिङ, प्याकेजिङ र बजारीकरणको प्रक्रिया अघि बढाइसकेको छ। स्थानीय उत्पादनलाई उद्योगसँग जोड्दै व्यावसायिक स्वरूप दिन खोजिएको उहाँको भनाइ छ। विधेयकले घरेलु मदिराको उत्पादन, संकलन, प्रशोधन, प्याकेजिङ, लेबलिङ तथा बिक्री वितरणका लागि स्पष्ट कानूनी व्यवस्था गरेको छ। अब तोकिएको प्रक्रिया पूरा गरी उद्योग दर्ता गर्न सकिनेछ भने उत्पादनको गुणस्तर, लेबलिङ र बजार व्यवस्थापनसमेत नियमन गरिनेछ।

कानूनले परम्परागत ज्ञान र स्थानीय संस्कृतिको संरक्षण गर्दै घरेलु उत्पादनलाई औपचारिक अर्थतन्त्रमा समावेश गर्ने लक्ष्य लिएको छ। यसले सहकारी, कृषक समूह र स्थानीय उद्यमीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने अपेक्षा गरिएको छ। गाउँपालिकाका रोजगार संयोजक हिमलाल पुरी ले नयाँ कानूनले स्थानीय स्तरमा उद्यम विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “विहादीमा प्रशस्त मात्रामा उत्पादन हुने कोदो, मकै तथा अन्य कृषि उपजलाई मूल्य श्रृंखलासँग जोड्न सके ठूलो आर्थिक सम्भावना छ। यो कानूनले उत्पादनदेखि प्रशोधन, प्याकेजिङ, ढुवानी र बजारीकरणसम्म रोजगारीका नयाँ अवसर सिर्जना गर्नेछ। वैदेशिक रोजगारीबाट फर्किएका युवालाई समेत उद्यमशीलतामा आकर्षित गर्न यो महत्वपूर्ण माध्यम बन्न सक्छ।” पुरीका अनुसार गाउँपालिकाले सीप विकास तालिम, लघु उद्यम प्रवर्द्धन तथा बजार व्यवस्थापन कार्यक्रमलाई समेत यस अभियानसँग जोड्ने तयारी गरिरहेको छ। नेपालको संविधानले स्थानीय तहलाई स्थानीय उद्योग, व्यापार र आर्थिक विकाससम्बन्धी कानून निर्माण गर्ने अधिकार दिएको छ। सोही संवैधानिक अधिकार प्रयोग गर्दै विहादी गाउँपालिकाले गण्डकी प्रदेशका औद्योगिक तथा सहकारी सम्बन्धी नीतिहरूसँग समन्वय गरी विधेयक तयार गरेको जनाएको छ।

विधेयकको मूल उद्देश्य स्थानीय स्रोत र साधनको उपयोग, आयात प्रतिस्थापन, उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना तथा गाउँपालिकाको आन्तरिक राजस्व वृद्धि रहेको छ। विहादी गाउँपालिकामा उत्पादन हुने कोदो परम्परागत रूपमा घरेलु मदिरा निर्माणमा प्रयोग हुँदै आएको छ। अब गाउँपालिकाले यसलाई वैज्ञानिक प्रशोधन, गुणस्तर परीक्षण, प्याकेजिङ र ब्रान्डिङमार्फत बजारमा स्थापित गर्ने योजना अघि सारेको छ। स्थानीय उत्पादनलाई कानूनी मान्यता दिँदै व्यावसायिक रूपमा विकास गर्ने गाउँपालिकाको कदमलाई ग्रामीण अर्थतन्त्र सुदृढीकरणको नमुना प्रयासका रूपमा हेरिएको छ।

स्थानीय सरकारको स्थापना पश्चात् कृषि, पर्यटन, पूर्वाधार र उद्यम विकासलाई प्राथमिकता दिँदै आएको विहादी गाउँपालिकाले अब स्थानीय पेय पदार्थलाई समेत आर्थिक समृद्धिको नयाँ आधारका रूपमा अघि बढाएको छ। गाउँपालिकाको विश्वास छ— स्थानीय उत्पादनको संरक्षण, प्रवर्द्धन र व्यावसायीकरणबाट नै “समुन्नत विहादी, सम्मानित विहादीबासी” को लक्ष्य हासिल हुनेछ।