१९ जेठ, पर्वत । नेकपा (एमाले) पर्वतले सञ्चालन गरिरहेको “पार्टीसँग जनप्रतिनिधि” कार्यक्रमअन्तर्गत जिल्लाका सातवटै स्थानीय तहमा अन्तरक्रिया तथा समीक्षा कार्यक्रम सञ्चालन भइरहेको छ। यसक्रममा कुश्मा नगरपालिका र बिहादी गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा पूर्व मन्त्री पदम गिरी ले जनप्रतिनिधिहरू जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनअपेक्षाअनुसार काम गर्दै सुशासन, पारदर्शिता र विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
उनले स्थानीय तहका जनप्रतिनिधिहरूले जनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने उल्लेख गर्दै विकास निर्माणका कामसँगै सेवा प्रवाहलाई प्रभावकारी बनाउन आग्रह गरे। जनताले स्थानीय सरकारबाट छिटो, सहज र गुणस्तरीय सेवा अपेक्षा गरेको भन्दै उनले जनमुखी कार्यशैली अपनाउनुपर्नेमा जोड दिए।
पूर्व मन्त्री गिरीले एमाले जनतासँग प्रत्यक्ष जोडिएको पार्टी भएकाले जनप्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त र जनभावनाअनुसार कार्यसम्पादन गर्नुपर्ने बताए। उनले विकास, सुशासन र समृद्धिको यात्रामा स्थानीय तहको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै जनप्रतिनिधिहरूलाई जिम्मेवार र उत्तरदायी बन्न आग्रह गरे।
कार्यक्रममा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडी ले पार्टी र जनप्रतिनिधिबीच समन्वय, अनुभव आदानप्रदान तथा कार्यसम्पादनको समीक्षा गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। उनले जनप्रतिनिधिहरूले जनताको भावना बुझेर विकास निर्माणका कामलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने धारणा राखे।
कार्यक्रममा सम्बन्धित पालिकाका अध्यक्षहरू, जनप्रतिनिधि, पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूले स्थानीय तहमा भएका विकासका उपलब्धि, चुनौती र आगामी योजनाका विषयमा आफ्नो धारणा राखेका थिए।
एमाले पर्वतले जिल्लाका सातवटै स्थानीय तहमा “पार्टीसँग जनप्रतिनिधि” कार्यक्रम सञ्चालन गरी जनप्रतिनिधिको कार्यसम्पादन, जनअपेक्षा र विकासका प्राथमिकतामाथि छलफल तथा समीक्षा गरिरहेको जनाएको छ। कार्यक्रमबाट पार्टी र जनप्रतिनिधिबीचको समन्वय थप मजबुत हुने तथा जनसेवालाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।




