२० जेठ, पर्वत । कुश्मा नगरपालिकाले आफ्नो नियमन क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाबाट ऋण लिएका सदस्यहरूलाई समयमा नै साँवा तथा ब्याज भुक्तानी गर्न आग्रह गर्दै अत्यन्त जरुरी सूचना जारी गरेको छ। नगरपालिकाले जारी गरेको सूचनामा कतिपय ऋणी सदस्यहरूले तोकिएको समयमा ऋण भुक्तानी नगर्दा सहकारी संस्थाहरूमा तरलता संकट उत्पन्न भएको, बचतकर्ताको रकम फिर्ता गर्न समस्या परेको तथा समग्र सहकारी क्षेत्र प्रभावित बनेको उल्लेख गरिएको छ।
सूचनाअनुसार सहकारी ऐन, २०७४, कुश्मा नगरपालिका सहकारी ऐन, २०७५ तथा प्रचलित कानुनबमोजिम ऋण लिने सदस्यले समयमै ऋण चुक्ता गर्नु कानुनी तथा नैतिक दायित्व हो। नगरपालिकाले सबै ऋणी सदस्यलाई सम्झौता र सर्तअनुसार लिएको ऋणको साँवा तथा ब्याज सम्बन्धित सहकारी संस्थामा समयमै बुझाई जिम्मेवारी पूरा गर्न अनुरोध गरेको छ।
नगरपालिकाले नेपाल सरकारले जारी गरेको सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८१ ले सहकारी क्षेत्रको सुधार, बचतकर्ताको रकम फिर्ता र ऋण असुली प्रक्रियालाई थप व्यवस्थित तथा कडा बनाएको जनाएको छ। नयाँ कानुनी व्यवस्थाअनुसार ऋण नतिर्ने ऋणी तथा जमानी बस्ने व्यक्तिविरुद्ध समेत बैंक खाता रोक्का, राहदानी तथा घरजग्गा सम्बन्धी कारबाहीलगायत कानुनी प्रक्रिया अघि बढ्न सक्ने उल्लेख गरिएको छ।
नगरपालिकाले ऋणी सदस्यहरूलाई सम्बन्धित सहकारी संस्थासँग सम्पर्क गरी कर्जा पुनर्तालिकीकरण, नियमित किस्ता भुक्तानी वा अन्य सहमतिमार्फत ऋण चुक्ता गर्न आग्रह गरेको छ। सूचनाको अन्त्यमा नगरपालिकाले पुनः समयमै ऋण भुक्तानी नगर्ने ऋणीविरुद्ध कुश्मा नगरपालिका सहकारी ऐन, २०७५ तथा प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेल द्वारा हस्ताक्षरित उक्त सूचना बिहीबार सार्वजनिक गरिएको हो।




