Print

पोखरामा महिलाको विभत्स हत्यामा संलग्न पर्वतका २ युवक पक्राउ

२७ चैत, पर्वत । चैत २५ गते साँझ पोखरामा भएको एक दर्दनाक हत्या प्रकरणमा संलग्न दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पत्रकार सम्मेलनमार्फत घटनाको विस्तृत विवरण सार्वजनिक गर्दै योजनाबद्ध रूपमा हत्या गरिएको खुलासा गरेको हो।

पोखरा महानगरपालिका–८ सभागृह चोक नजिक शिवालय चोकस्थित सडकखण्डमा साँझ करिब सवा सात बजे घर फर्किंदै गरेकी ४२ वर्षीया सिर्जना पौडेल केसीमाथि अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते भएकी उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा चिकित्सकले साँझ करिव सवा आठ बजे मृत घोषणा गरेका थिए।

पृथ्वीचोकमा जुत्ता तथा चप्पल पसल सञ्चालन गर्दै आएकी मृतक पोखरा–५ स्थायी घर भई हाल पोखरा–१८ सेदी बस्दै आएकी थिइन्। उनका श्रीमान् कृष्ण क्षेत्रीको तीन वर्षअघि निधन भइसकेको थियो भने उनीसँग करिब ४ वर्षकी एक छोरी रहेको प्रहरीले जनाएको छ।

पारिवारिक विवादबाट हत्या

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मृतक र उनका परिवारबीच अंशसम्बन्धी तथा अन्य पारिवारिक विवाद रहँदै आएको थियो। सोही विवाद चर्किएको र त्यसैको प्रतिशोधस्वरूप हत्या गरिएको निष्कर्ष प्रहरीको छ।

योजनाबद्ध आक्रमण

प्रहरीका अनुसार घटनाको योजना करिब एक महिनाअघि नै बनाइएको थियो। घटनाको दिन सिर्जना पौडेल केसी पसल बन्द गरी पैदल घर जाँदै गर्दा पछाडिबाट आएका व्यक्तिले मास्क र हेल्मेट लगाई स्कुटरको नम्बर प्लेटसमेत छोपेर धारिलो हतियार प्रहार गरी फरार भएका थिए।

२ जना पक्राउ

घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पर्वत कुश्मा नगरपालिका–११ घर भई हाल पोखरा–६ बस्दै आएका २७ वर्षीय सन्तोष भन्ने शिशिर केसी र पोखरा–१७ रातोपहिरा निवासी ३२ वर्षीय कुशल परियार रहेका छन्। शिशिरलाई हत्या गरेर भारततर्फ भाग्दै गरेको अवस्थामा बुटवल २ मनकामना टोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिमिर केसी यसअघि अभद्र व्यवहार, चोरी तथा डाँका सम्बन्धी मुद्दामा संलग्न रहेका थिए भने कुशल परियारमाथि लागूऔषध सम्बन्धी कसुरका मुद्दा दर्ता भइसकेका छन्।

हतियार र स्कुटर बरामद

घटनामा प्रयोग गरिएको ग २५ प ३०४४ नम्बरको स्कुटर पोखरा–७ मुस्ताङ चोकबाट बरामद गरिएको छ भने धारिलो हतियार ९खुँडा० पोखरा–१६ तितेपानी जंगलबाट फेला पारिएको प्रहरीले जनाएको छ।

थप अनुसन्धान जारी

घटनामा अन्य व्यक्तिको संलग्नता रहेको हुन सक्ने आशंकामा प्रहरीले थप अनुसन्धान जारी राखेको छ। पक्राउ परेका दुवै जनामाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।- pokharanews.com