Print

तमादीखोलाको पुल निर्माण अझै सकिएन, यात्रुलाई सास्ती


२३ असार, पर्वत । गत बर्ष मात्रै तमादीखोलामा आएको बाढिले बगाउँदा ३ जनाको मृत्यु भएको थियो । सानो खोल्साको रुपमा रहेको तमादीखोला औषतमा पानी निकै कम बहने खहरे खोला हो । विगत केहि बर्ष देखि भने उक्त खोलामा निरन्तर बर्षातको समयमा लेदो सहितको बाढि आउने गरेको छ ।

जीपमा सबार ३ जनालाई बाढिले बगाएपछि तमादीखोलामा पुल निर्माणको कामले अझै तिव्रता लिएको थियो । उक्त स्थानमा गत बर्ष अघि देखि नै पुल निर्माणको काम भने भइरहेको थियो ।

खोलाले जीप सहितका यात्रु बगाए पछि मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले समेत चासो पूर्वक पुल निर्माणमा ध्यान दिए पनि पुल निर्माणको काम भने अझै सकिएको छैन् । खोला पानीको मात्रा निकै कम हुने भएपनि बर्षातको बेलामा आउने लेदोले यस पटक पनि पटक पटक यात्रुलाई सास्ती दिइरहेको छ ।

मनसुन शुरु भएको दोस्रो सातामा भएको बर्षातले २२ असारमा पुनः खोलामा बाढि आयो । बाढिले केहि समय सडक अवरुद्ध बन्यो । पुल निर्माणको काम अन्तिम चरणमा रहेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाए पनि पुलमा अझै केहि समय सवारी सञ्चालन गर्न नसकिने देखिएको छ । यसो हुँदा तमादीखोलाले यस बर्षको बर्षातमा पनि कुनै पनि बेला मानवीय क्षति पुराउन सक्ने देखिन्छ ।

तमादीखोला : मोटरेवलपुल बन्दैछ, बाढिले ३ मानिस बगायो